काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘डिस्चार्ज’ भएका छन्। प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनबहादुर ओलीले आर्शिवाद दिएका थिए। डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले यही फागुन २१ गते बिहान करिब १० बजे प्रत्यारोपण शुरु गरेको थियो। करिब पाँच घण्टा लगाएर प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा सङ्ग्रौलाले एउटा मिर्गौला दान गरेकी थिइन्। यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका थिए।
डिस्चार्ज हुनुअघि उनकी धर्मपत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना भएका थिए। उनलाई ६०१ नं शय्यामा भर्ना गरिएको थियो। प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णय लिएपछि यसलाई शिक्षण अस्पताल चिकित्सकले अवसरका रुपमा लिएको जनाएका थिए।
त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागका प्रमुख एवं प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहाले शिक्षण अस्पतालका चिकित्सकमाथि भरोसा गरी उपचार गर्ने अवसर दिएको भन्दै आफूहरु गौरवान्वित भएको बताइा्। डिस्चार्जपछि प्रधानमन्त्री समयसमयमा ‘फलोअप’ मा रहनुपर्ने र आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै काम गर्न सक्ने उनले बताइन्।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीका प्रमुख प्राडा उत्तमकुमार शर्माले उनमा कुनै संक्रमण नभएको र पूर्ण स्वास्थ्यलाभ भएपछि नै डिस्चार्ज गरिएको जानकारी दिए। प्रधानमन्त्रीलाई कुनै संक्रमण नहोस् भनेर बालुवाटारमा ‘कन्ट्रोल रुम’ को बन्दोबस्त गरिएको छ। शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। ‘उहाँको शरीरमा पाइप र टाँका रहेका छन्। घाउ हेरेर पाइप र टाँका एक÷दुई दिनमा निकालिने छ’, उनले भने, ‘सबै पारामिटर हेरेर प्रधानमन्त्रीको शरीरमा राखिएको सबै पाइप निकालिने छ। उहाँलाई इन्फेक्सनको डर छ, उहाँमा सङ्क्रमण नहोस् भनेर बालुवाटारमा पनि चिकित्सकको निगरानीमा राखिने छ।’
अहिले प्रधानमन्त्रीको शरीर कमजोर रहेको उनको भनाइ थियो। ‘कीटाणुले आक्रमण गर्न सक्छ, त्यही भएर औषधि खाइरहनुपर्छ। तीन महिनासम्म आराम गर्नुपर्छ’, डा शर्माले भने, ‘साधारण काम गर्न सक्नुहुन्छ, प्रत्यक्ष कुराकानी गर्न मिल्दैन, ठूलो शल्याक्रिया पछाडि हिँडडुल गर्न अप्ठ्यारो भएकाले उहाँलाई समातेर लगिएको हो।’
सार्वजनिक कार्यक्रममा तत्काल सहभागी हुन नहुने र प्रधानमन्त्रीको शारीरिक अवस्था हेरेर यसबारेमा सुझाव दिइने उनले बताए। उनको अवस्था सन्तोषजनक भएपछि डिस्चार्ज गरिएको हो। उनको नियमित स्वास्थ्य परीक्षण गरिने छ। प्रधानमन्त्रीलाई बालुवाटारमा भए पनि चिकित्सकको निगरानीमा राखिनेछ।