खरीपाटी क्वारेन्टाइन सफल बनाएकी प्रजिअ पाण्डे भन्छिन् : कालोबजारी हुन दिन्न

स्थानीय जनता र स्थानीय सरकारको समेत बिरोधको बाबजुद चीनबाट उद्धार गरी नेपाल ल्याइएका विद्यार्थीलाई सफलतापूर्वक खरीपाटी क्वारेन्टाइनमा राख्न र विवाद ब्यबस्थापन गर्न सफल भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नोभेल कोरोना भाइरस(कोभेड १९ )कोे नाममा कालोबजारी गर्नेलाई नछाड्ने चेतावनी दिएकी छन् ।  कोरोनाको त्रास देखाउदै कालोबजारी गर्नेलाई नछाड्ने उनले चेतावनी दिएकी हुन् ।

शुक्रवार भक्तपुर उद्योग वाणिज्य सङ्घको अन्तरक्रिया कार्यक्रममा उनले त्रास देखाउदै बढी मूल्यमा सामान बेच्दा ब्यापारी वर्गप्रति नै समाजमा नकारात्मक छवी बन्नेतर्फ सचेत रहन समेत अनुरोध गरिन् । ”कालोबजारी हुन नदिनका लागि सबैको सहयोग आवश्यक छ । इमान्दार ब्यापारी वर्गले झन् सचेत भएर कालोबजारी हुन नदिन भूमिका खेल्नुपर्छ ।” उनले भनिन् ।

महँगो मूल्यमा सामान बिक्री गर्ने व्यापारीलाई केहि दिन अघि हिरासतमै लिएर कानुनी कारवाही गरेको जानकारी गराउदै प्रजिअ पाण्डेले कोरोनाको बहानामा सामान लुकाउने र बढी मूल्य लिएर बेच्ने बिरुद्ध कडा कारवाही गर्न आफू पछि नपर्ने प्रष्ट पारिन् । ” तपाईहरु सूचना दिनुस्, कालोबजारी गर्नेलाई कडा कारवाही गर्न हामी कटिबद्ध छौ । जहाँसुकैबाट दबाब आएपनि हामी छोड्ने छैनौ ।” उनले भनिन् ।

आफै कालोबजारी भएको हेर्ने र भोग्ने तर प्रशासनमा खबर नगर्ने प्रवृत्ती अन्त्य नभएसम्म कालोबजारी नियन्त्रणमा चुनौती हुने भन्दै प्रजिअ पाण्डेले कालोबजारी नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने आवस्यकता औल्याइन् ।

उक्त अवसरमा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले सबै ब्यापारीलाई एकै घानमा हाल्नु नहुनेमा जोड दिंदै सङ्घले कालोबजारी नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । आफ्ना सदस्यहरुलाई उच्च नैतिकता प्रदर्शन गर्न समेत आह्वान गर्दै अध्यक्ष श्रेष्ठले संकटको बेलामा ब्यापारी वर्गको परीक्षाको समय शुरु भएको भन्दै आफ्नो धर्ममा रहने विस्वास व्यक्त गरे ।

अन्तरक्रियामा अधिकांस व्यापारीले भने उपभोक्ताले चाहिनेभन्दा बढी खरीद गर्दा सामान अभाव हुने स्थिति रहेको तर्फ ध्यानाकर्षण गराएका थिए ।

Loading...