काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भर्खरै डिस्चार्ज भएका हुन् ।उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको बताएका थिए ।यद्यपि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन् ।