रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थप १२ वर्षसम्म राष्ट्रपति बन्‍ने

काठमाडौं, २९ फागुन। ‍रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थप शक्तिशाली भएका छन् । रुसको संसद्ले देशको संविधान संशोधन प्रस्तावलाई स्वीकृति दिएसँगै पुटिन झन शक्तिशाली भएका हुन् । अब पुटिन थप १२ वर्षसम्म राष्ट्रपति हुने भएका छन् । रुसी जनतामा पुटिन लोकप्रिय भएपनि संवैधानिक प्रावधानले पुटिन लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाएका थिएनन् ।

संविधान संशोधनसँगै पुटिन थप १२ बर्षसम्म राष्ट्रपति बन्‍न पाउने भएका छन् । ६७ वर्षीय पुटिन ८३ वर्षसम्म राष्ट्रपति बन्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सैन्य क्षमतामा विश्वको दोस्रो शक्तिशाली देश रुसको संविधान संशोधनले अमेरिकालगायत केही पश्चिमा देशहरुको लागि टाउको दुखाईको विषय बनेको छ । रुसमा पुटिनको कार्यकाल लम्बिनु भनेको अमेरिकामाथि दबाब बढ्ने निश्चित छ ।

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको दोस्रो पटकको दोस्रो कार्यकाल सन् २०२४ मा पूरा हुँदैछ । यसअघिको संवैधानिक व्यवस्थाका अनुसार २०२४ पछि पुटिन राष्ट्रपति बन्न पाउने थिएनन् । तर बुधबार रुसको संसद्को तल्लो सदन ड्युमाले एक प्रस्ताव पारित गर्दै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्न पाउने प्रस्तावलाई स्वीकृत गरेको हो ।

संविधान संशोधन सम्बन्धी प्रस्तावको समर्थनमा ३८३ मत खस्दा विपक्षमा एक मत पनि खसेन । ४३ जना सदस्यले मतदानमा भाग लिएनन् भने २४ सदस्य सदनको कारबाहीमा अनुपस्थित रहे । यसको केही घण्टापछि एक सय ७० सदस्य रहेको उच्च सदन फेडरल काउन्सिलले पनि यो प्रस्ताव पारित गर्‍यो । यो प्रस्तावको समर्थनमा एक सय ६० मत खस्दा विपक्षमा एक मत पनि खसेन । तीन जना सदस्यले मतदानमा भाग लिएनन् ।

अरु कोही व्यक्ति नयाँ राष्ट्रपति भएमा उनिहरुले भने बढीमा दुई पटकसम्म राष्ट्रपति बन्न पाउने संवैधानिक प्रावधान यथावत नै छ । यो संविधान संशोधन पुटिनको हकमा मात्रै हो । प्रस्ताव पारित भएसँगै ड्युमाका सभामुख याचेस्लाव वोलोदिनले देशको विकास र मजबुतीका लागि पुटिन राष्ट्रपति बन्नु जरुरी भएकोले राष्ट्रको हितमा ड्युनाले प्रस्तावलाई मञ्जुरी दिएको बताए

Loading...