प्रधानमन्‍त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार, एकदुई दिनमै डिस्चार्ज हुने

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍जमै आराम गरिरहेका प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन आज चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्‍त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिँदै छ । अस्पतालमा प्रधानमन्‍त्री ओलीले नियमित खानपानसँगै हिड्‌डुल गरिरहेका छन् । अस्पतालमै ओलीले व्यायाम पनि गरिरहेको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्‍त्रीको स्वास्थ्यमा नियमित सुधार भएकोले केही दिनमा डिस्चार्ज गरिने र त्यसका लागि उपचारका संलग्‍न चिकित्सक तथा विशेषज्ञहरुसँग परामर्श भइरहेको ननस्टपखबरसँग बताए। कार्यकारी निर्देशक खड्गाका अनुसार पहिले दातालाई डिस्चार्ज गर्ने तयारी छ। ढिलोमा आगामी शुक्रबारसम्ममा प्रधानमन्‍त्रीको डिस्चार्ज गरिनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्‍त्री ओली र मिर्गौला दाता भान्जी पर्ने समीक्षा सग्रौला गत फागुन १९ गते अस्पताल भर्ना भएका थिए। प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।

Loading...