प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे अस्पतालले जारी गर्यो विज्ञप्ति

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री ओली स्वास्थ्य अवस्था बारे अस्पतालले विज्ञप्ति जारि गरेको छ । गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । प्रत्यारोपणको पाँचौं दिन एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीले नियमितजस्तै खाना खाएको र सामान्य डिँडडुल गर्न सक्ने अवस्थामा रहेका जनाईएको छ ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले प्रधानमन्त्री ओली डिस्चार्ज गर्न मिल्ने अवस्थामा पुगिसकेका छन् । तर, मिर्गौला प्रत्यारोपण पछि ‘हाइ डोज’को औषधि सेवन गरीरहेको अवस्थामा संक्रमणको जोखिम रहेको भन्दै प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राख्ने योजना चिकित्सकको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भए पनि संक्रमणको जोखिम कायमै रहेकाले चिकित्सक बाहेक अन्य व्यक्तिलाई भेट्न भने दिइएको छैन । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी नाता पर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।

Loading...