औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका छन् ।

कांग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरिन् । नेकपाका सांसद धर्मशिला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरिन् । उनले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न माग गरिन् ।

छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन । चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ । बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ । ८४ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ मा रोग देखिएकामा तीन हजार २८५ को मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ निको भएर घर फर्किसकेका छन् ।

भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग
प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्य स्वचालित दरमा राख्न माग पनि गरेका छन् । कांग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दोब्बर कर बढाएको भन्दै त्यो फिर्ता गर्न माग गरे । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय दरको आधारमा स्वचालित राख्नुपर्नेमा रु पाँच प्रतिलिटर बढिरहेको भन्दै उनले उक्त रकम फिर्ता गराई अपारदर्शी ढङ्गले सङ्कलन गरिएको रकमको अवस्था सार्वजनिक गर्न माग गरे ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
शून्य समयमा प्रतिनिधिसभा सदस्यले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सांसदले मिर्गौला दिने समीक्षा सङ्ग्रौलाको साहसको उच्च प्रशंसा गर्दै सफल मिर्गौला प्रत्यारोपणले स्वदेशको अस्पताल र स्वदेशी चिकित्सकको विश्वास बढेको बताए ।

नेकपाका सांसद पूर्णकुमारी सुवेदीले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै नेपालको चिकित्सा क्षेत्रको प्रशंसा गरिन् । नेकपाका अर्का सांसद नवराज सिलवालले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर नेपालको औषधि विज्ञानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको भन्दै खुशी व्यक्त गरे  नेकपा सांसद देवप्रसाद गुरुङले प्रधानमन्त्रीको शीघ्रस्वास्थ्य लाभको कामना गर्दै आउँदै गरेको महिला दिवसको अवसरमा समेत शुभकामना व्यक्त गरे ।

Loading...