संसदमा आज कोरोनाविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव पेश हुँदै

काठमाडौं, २३ फागुन । विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक विस्तारै नेपालमा पनि प्रवेश गर्ने आशंका गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेपछि यससँग जुध्न सरकारले के गरेको छरु अस्पतालको अवस्था के छ? भन्ने जस्ता प्रश्नमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा आज कोरोना भाइरसविरुद्ध राष्ट्रिय संकल्पका साथ एकजुट भएर अघि बढ्नुपर्ने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले यस विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।प्रस्तावको पक्षमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणी राजभण्डारी, राजेन्द्रकुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नेछन् ।

बैठकमा आज कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउने विषयमा संकल्प प्रस्ताव पनि पेश हुनेछ । सत्तारुढ नेकपाकै सांसद खगराज अधिकारीले पेश गर्ने प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्नेछिन।

Loading...