चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व- पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१७३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएको हो ।

बसमा सवार ३४ जनामध्ये नौ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराम थापाले जानकारी दिए । उनीहरुको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा भारत कलकत्ता खडी सिंगापर बस्ने २४ वर्षीय आइजाबु हुसेन, भारत समस्तीपुर बस्ने ५५ वर्षीया मिनादेवी राम, भारत मुसिदावाद बस्ने वर्ष २९ का मिठु सेठ, सोही स्थानका ५२ वर्षीय जादुर हुसेन रहेका छन् ।

अन्य घाइते हुनेहरुमा सुनसरीको इटहरी नगरपालिका–१ बस्ने २९ वर्षीय मनिकराम चौधरी, सुनसरीको इटहरी नगरपालिका–१६ का ४१ वर्षीय मिलन श्रेष्ठ, इटहरी नगरपालिका–१० बस्ने १९ वर्षीय सन्तोष कुमार चौधरी, इटहरी–१७ बस्ने ४५ वर्षीय सुरेश कुमार चौधरी र इटहरी–४ रामधुनी बस्ने २६ वर्षीय नविन चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।

Loading...