इजलास कम हुँदा विशेष अदालतमा मुद्दाको चाप

काठमाडौँ, २० फागुन । इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ । इजलास व्यवस्थापनका लागि नै अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दाका प्रतिवादीलाई चरणबद्ध रूपमा अदालतमा उपस्थित हुन आउने म्याद जारी गरिरहेको छ ।

मुद्दा दर्ता भएको करिब एक महिना बिते पनि सबै प्रतिवादीलाई म्याद पठाइएको छैन । विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले इजलास व्यवस्थापनमा सहजताका लागि चरणबद्ध रूपमा म्याद पठाइएको जानकारी दिए । खड्काले भने, ‘‘अहिले करिब पाँच सय हाराहारीमा मुद्दा छन् । ठूला विषय र धेरै प्रतिवादी भएका मुद्दा पनि थुप्रै छन् । लगतमा एक थान भए पनि त्यस्ता मुद्दामा प्रतिवादीको बयान, थुनछेक लगायतमै धेरै समय जान्छ ।’’

इजलास व्यवस्थापनका लागि ललिता निवास प्रकरणमा पनि चरणबद्ध रूपमा उपस्थित हुने म्याद पठाइएको हो । सजाय दाबीसमेत गरिएका ११० प्रतिवादी र जग्गा जफत मात्र गर्न माग गरिएका ६५ प्रतिवादीलाई क्रमिक रूपमा म्याद जारी गरिएको हो । ‘‘हामीले चरणबद्ध रूपमा म्याद जारी गरेका छौँ । दण्ड तथा सजाय माग गरिएका र जग्गा मात्र जफत गर्न माग गरिएका प्रतिवादीलाई क्रमशः म्याद जारी गरिरहेका छौँ । जम्मा ५४ जनालाई म्याद जारी गरिसकेका छौँ,’’ उपरजिस्ट्रार खड्काले भने ।

ललिता निवास प्रकरणमा विशेषले दण्ड र जरिवानासमेत माग गरिएका मध्ये क्रमसङ्ख्या ३४ सम्म र जग्गा जफतको मात्र माग गरिएका ६५ प्रतिवादीतर्फ क्रमसङ्ख्या २० सम्म म्याद जारी गरिएको छ । विशेष अदालतमा अहिले दुई इजलास नियमित रूपमा लाग्ने गरेका छन् । विशेषमा छ जना न्यायाधीश कार्यरत छन । पछिल्लो समय अख्तियारले दायर गर्ने मुद्दाको सङ्ख्या भने ह्वात्तै बढेको छ ।

Loading...