अचानक आएको बाढीले ७ विद्यालयमा क्षति, विद्यार्थी भागेर जोगिए

काठमाडौं । भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न विद्यालय प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार दुवै जिल्लाका गरी ८ विद्यालयमा क्षति पुगेको छ, जसमध्ये अधिकांश विद्यालय रसुवाका छन्।

रसुवाको गोसाईकुण्ड गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। टिमुरेमा रहेको टिमुरे सामुदायिक विद्यालयको भवनमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयसमेत बाढीबाट प्रभावित भएको छ। बाढी आएपछि विद्यार्थीहरू सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउन सफल भएका छन्।

यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा पनि बाढीले व्यापक भौतिक क्षति गरेको छ। विद्यालय परिसरमा हिलो र लेदो थुप्रिनुका साथै बाढीले बगाएर ल्याएका विभिन्न सामग्रीले परिसर भरिएको छ।

टिमुरे क्षेत्रमा रहेका तीनवटा निजी तथा दुईवटा सामुदायिक विद्यालयसमेत बाढीको चपेटामा परेका छन्। ती विद्यालयको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रारम्भिक जानकारीअनुसार केही विद्यालयका संरचना बाढीले बगाएको जनाइएको छ।

बाढीबाट विद्यालय भवन, परिसर तथा शैक्षिक पूर्वाधारमा भएको क्षतिको थप विवरण संकलन भइरहेको बताइएको छ।