स्वयंसेवक शिक्षकका लागि आवेदन खुल्यो, यस्तो छ योग्यता र दरखास्त दिने तरिका

 

काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने घोषणा गरेसँगै केन्द्रले सो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आवेदन खुलाएको हो ।

केन्द्रले आफ्नो बेवसाइटमा राखेको स्थानीय तहमा रही कार्य गर्न इच्छुक नेपाली नागरिकहरुलाई फागुन २५ गतेभित्र आवेदन दिन सूचित गरेको छ । माघ २९ गतेको मन्त्री परिषद्ले शिक्षण स्वय्सेवक कार्यविधि, २०७६ पारित गरेसँगै उक्त कार्यक्रम लागू गर्न लागिएको हो ।

कार्यविधि अनुसार अनुसार अंग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयम् सेवक शिक्षक खटाइने भएको छ । सामुदायिक विद्यालयका अनिवार्य तीन विषय तथा प्राविधि धारको शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

विषयगत शिक्षक अभाव भएका सामुदायिक विद्यालय र प्राविधिक धार सञ्चालन भएका विद्यालयमा स्वयम् सेवक शिक्षकले शिक्षण गर्न पाउने कार्यविधिमा उल्लेख गरिएको छ । स्वयम् सेवक शिक्षकले साप्ताहिक २४ घण्टी पढाउनु पर्ने व्यवस्था कार्यविधिमा गरिएको छ भने सेवक शिक्षकको अन्य विद्यालयमा सरुवा नहुने भनिएको छ । केन्द्रले प्रदान गरेको शिक्षक दरबन्दीका आधारमा शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकले शिक्षण गर्न पाउने छन् ।

बैशाख २० गते बसेको संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिप सहित परिचालन गर्ने कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरिएको हो ।

स्वयमसेवकको रूपमा नियुक्त हुने शिक्षकलाई मासिक २४ हजारदेखि ३२ हजार रुपैयाँसम्म पारि श्रमिक दिइने कार्यविधिमा उल्लेख छ । उनीहरूको न्यनूतम शैक्षिक योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्नेछ ।

यसरी छनोट हुनेछन् स्वयंसेवक शिक्षक
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आवेदकहरू मध्येको प्राथमिकताक्रम, विद्यालयको आवश्यकता तथा आवेदकको स्थायी ठेगाना समेतका आधारमा सम्बन्धित इकाइ मार्फत स्वयंसेवकको सूची स्थानीय तह र विद्यालयलाई उपलब्ध गराउने जनाइएको छ ।

कुनै विषयमा आवश्यकता भन्दा बढी आवेदकहरू भएको अवस्थामा तोकिएको न्यूनतम शैक्षिक योग्यताको आधारमा उच्चतम अङ्क ल्याउने आवेदकलाई छनौट गरी परिचालन गरिने कार्यविधिमा उल्लेख छ ।

स्वयंसेवक शिक्षकको  नियुक्ति प्रक्रिया
कर्यविधिमा स्थानीय तहले शिक्षण स्वयंसेवकको स्थानीय तहगत स्वीकृत सूचीबाट आफ्नो क्षेत्रभित्रको विद्यालयको लागि स्वयम्सेवक नियुक्तिको सिफारिस गर्ने उल्लेख छ ।

यसैगरी, सिफारिस गरेको व्यक्तिलाई सम्बन्धित विद्यालयले सम्झौता गरी नियुक्ति गर्नेछ ।  नियुक्ति भएको मितिले सात दिनभित्र विद्यालयमा हाजिर भई स्वयंसेवकले शिक्षण कार्य प्रारम्भ गर्नुपर्ने साथै, सो अवधिभित्र शिक्षण कार्य प्रारम्भ नगरेमा नियुक्ति स्वतः बदर हुने कार्यविधिमा उल्लेख छ ।  

स्वयंसेवक शिक्षकले कुनै कारणवस कार्य अवधि पूरा नहुँदै सेवा छाड्नु पर्ने भएमा दुई महिना अगावै सम्बन्धित विद्यालयलाई जानकारी गराउनु पर्ने साथै,  रिक्त स्थानमा बाँकी अवधिका लागि मात्र स्थानीय तहले सूचीकृत मध्येबाट सिफारिस गरेको व्यक्तिसँग सम्झौता गरी विद्यालयले नियुक्ति गर्न सक्ने कार्यविधिमा जनाइएको छ ।

कार्यविधिमा तोकिएअनुसार  स्वयम्सेवक शिक्षक हुन देहाय बमोजिमको योग्यता हुनु पर्नेछ  

(क) नेपाली नागरिक,
(ख) अठार वर्ष उमेर पूरा भई चालीस वर्ष उमेर ननाघेको,
(ग) मगज नबिग्रेको,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको,
(ङ) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नगरिएको,
(च) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो  सरहको परीक्षा उत्तीर्ण भएको, तर स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिइनेछ ।

कसरी दिने आवेदन

 शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेवसाइट (www.doe.gov.np) मा उल्लिखित स्थानीय तहमा रही कार्य गर्न इच्छुक उक्त कार्यविधिको दफा १० अनुसारको योग्यता भएका नेपाली नागरिकहरुबाट  २०७६ फाल्गुण २५ गते भित्र केन्द्रको वेवसाइटमा उपलब्ध portal  मार्फत् online निवेदन दिन सक्ने जनाइएको छ ।

Loading...