नेकपाको नाङ्गो यथार्थ सार्वजनिक, सञ्चार मन्त्रालय भ्रष्ट्राचारको अखाडा: रिजाल

काठमाडौँ, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नेतृत्व गरिरहेकोे नेकपाको नाङ्गो यथार्थ सार्वजनिक भएको बताएका छन । निवर्तमान मन्त्री गोकुल बाँस्कोटाले ७० करोड मागेको विषयमा कटाक्ष गर्दै नेता रिजालले बहालवाला मन्त्रीलाई ७० करोड घुस दिनेलाई नै ठेक्का दिने तयारी गर्नुले सरकारले बढी घुस जस्ले दिन्छ त्यसैलाई प्रोत्साहन गर्न खोजेको नाङ्गो यर्थाथ उदाङ्गो भएको बताएका हुन ।

सञ्चार मन्त्रालय भ्रष्ट्राचारको अखाडा बनेको भन्दै उनले स्याटेलाइटको काण्ड, फोर्जी वितरण, अप्टिकल फाइबरको इजाजतको विषयमा समेत सञ्चार मन्त्रालयले भ्रष्ट्राचारको तयारी गरेको बताए ।

हाँस्यास्पद तरिकाले सांसद रिजालले प्रश्न गरे तुलामा राख्दा सबै एकातिर र तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा अर्कोतिर किन भनिएको रहेछ त रु ’ जनताले बुझेको, भोगेको सरकार यहीको भएपनि सरकार कुन लोकमा रहेको पत्तो नभएको पनि उनको भनाइ थियो ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांँग्रेसका सांसद मीनेन्द्र रिजालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले अख्तियारलाई प्रभावित बनाएको विषयले सर्वाङ्ग लाजलाग्दो स्थिति सिर्जना गरेको दाबी समेत गरे ।

संसदमा बोल्दै उनले विरोधीहरु जेल जानुपर्ने, कम्युनिष्टका नै भएपनि आफ्ना गुट नभएको खण्डमा सजायको भागिदार बन्नुपर्ने स्थिति वर्तमान सरकारले सिर्जना गरेको आरोप लगाए।

सांसद रिजालले न्यारोबडी जहाजको विषयमा विदेशी कम्पनीले सरकारलाई घुस रकम दिएको बताएको भने पनि सरकारले हालसम्म पनि छानविनको छनक नदेखाएको आरोप पनि लगाए । साथै उनले वाइडवडीमा काण्डको विषयमा पनि चाँडै छानबिन गर्न माग राखका छन ।

सामाजिक सञ्जालमा आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको विषयमा कटाक्ष गर्दै उनले भने, ‘प्रधानमन्त्री जन्मिनु भएको घरलेपनि भन्यो होला, यो मेरो खड्गप्रसाद ओली होइन् , यो त महाराजा हो । जन्मदिनमा चार हजार वृद्धावृद्ध र केटाकेटीलाई साडी र कोट बाढेको प्रसङ्गमा रिजालले भने यो देखेर त महाराजाहरुलाई पनि डाहा लाग्यो होला, जो जन्मदिनमा मिठाई बाँडेर नै चित्त बुझाउथे ।

हिजो राजनीति गर्दा श्रीपेच फुकालेर आऊ भन्थे मदन भण्डारी तर आज श्री डेढ, श्री अढाई, श्री साढे सातका मानहरुसहितका थरी थरीका श्रीपेच लगायतका कम्युनिष्ट आत्मजन र मित्रजन देख्दा मदन भण्डारी पनि के भन्दा हुन् भन्ने प्रश्न पनि सांसद रिजालले गरे ।

उनले थप व्यग्ङ्य कस्दै रिजालले अगाडि भने ‘दुई आँखा छोपिने गरी पूर्वराजाको वैभवको नक्कलले कम्युनिष्ट पार्टीलाई गाँजेको छ । संघीय गणतन्त्रले राजा ज्ञानेन्द्रलाई मात्र विदाई नगरेको समग्र ज्ञानेन्द्र प्रवृत्तिलाई समेत विदाई गर्न चाहेको बुझ्नु पर्छ अब कम्युनिष्टहरुले पनि । ’

Loading...