हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहार मुद्दामामा दोषी ठहर

हलिउड मुगल हार्बी वाइन्स्टिन बलात्कार तथा यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर भएका छन् । हलिउडबाट सुरु भएको मी टू अभियानकै कारण विगतमा गरेका अपराधहरु बाहिर आएर दोषी ठहर हुने वाइन्स्टिन चलचित्र क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् ।

६७ वर्षका वाइन्स्टिनलाई अमेरिकाको न्यूयोर्कमा रहेको अदालतले थर्ड–डिग्री रेप तथा फर्स्ट–डिग्री क्रिमिनल सेक्सुअल एक्टमा दोषी ठहर गरेको हो । तर उनी गम्भीर प्रकारको यौनजन्य अपराधको अभियोगबाट भने मुक्त भएका छन् । उनले २५ वर्षसम्मको जेल सजाय पाउन सक्ने छन् । न्युयोर्क अदालतले फैसला सुनाए पनि उनीविरुद्ध लस एन्जलसमा अर्को मुद्दा अझै छ । सन् २०१३ मा दुई महिलालाई दुई दिनसम्म यौन हिंसा गरेको अभियोगमा लस एन्जलस अदालतमा मुद्दा दायर भएको छ ।

वाइन्स्टिनमाथि कम्तिमा ८० जना महिलाले यौन हिंसा या यौन दुर्व्यवहारको आरोप लगाएका थिए । यसरी आरोप लगाउनेमा ग्वेनथ पाल्ट्रो, उमा थर्मन, सलमा हायाकसहितका अभिनेत्री पनि थिए । मिडिया मुगल वाइन्स्टिन हलिउडका स्थापित निर्माता हुन् । उनले निर्माण गरेका पल्प फिक्सन, गुड विल हन्टिङ्ग, द किङ्गस् स्पीच, शेक्सपियर इन लभसहितका चलचित्रले ओस्कार अवार्ड जितेका छन् ।

प्रोडक्सन एसिस्टेन्टका रुपमा काम गरेकी मिमी हेलिआईलाई सन् २००६ मा गरेको यौन दुर्व्यवहार तथा जेसिका मान नाम गरेकी महिलालाई सन् २०१३ मा गरेको बलात्कार आरोपमा वाइन्स्टिन दोषी ठहर भएका हुन् । फैसला सुनाउँदै न्यायाधीशले वाइन्स्टिनलाई तत्काल जेल चलान गर्न आदेश दिए । उनीमाथि कति वर्षको जेल सजाय हुने भन्ने घोषणा अदालतले मार्च ११ मा गर्ने छ ।

Loading...