नेकपाको एमसीसी अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेश

काठमाडाै, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एमसीसी अध्ययन कार्यदलले प्रतिवेदन पेश गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बारे अध्ययन र सुझावका लागि बनेको कार्यदलले प्रतिवेदन पेश गरेको हो ।

शुक्रवार कार्यदलले पार्टी अध्यक्ष द्वयलाई प्रतिवेदन पेश गरेको कार्यदलका एक सदस्य नेता भीम रावलले पुष्टि गरे । यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने प्रतिवेदनमा सुझाव दिइएको बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा एमसीसीमा समेटिएका केही बुँदाहरू संशोधन गरेर मात्रै सम्झौता अनुमोदन गर्नुपर्ने सुझाव दिएको छ ।

पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदलले यसतो प्रतिवेदन दिएको हो ।

नेकपा केन्द्रीय कमिटीको माघ १५ देखि १९ गतेसम्म बसेको बैठकमा अहिलेकै एमसीसीबारे प्रश्न उठेपछि कार्यदल बनाइएको थियो।

Loading...