पेट्रोलियम तथा ग्यास पाइपलाइन परियोजना अघि बढाउन समिति गठन

काठमाडौँ, फाुगन ६ गते । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसहितका यी चार संयुक्त अध्ययन समिति बनाइएको हो । सिलगुढी–झापा पाइपलाइनको प्रारम्भिक रेखाङ्कन पनि थालिएको छ ।
नेपाल र भारतको सहसचिवस्तरीय संयुक्त कार्य समूहले संयुक्त अध्ययन टोली बनाउने निर्णयअनुसार यी समिति बनाइएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेका अनुसार संयुक्त कार्यसमूहले पाँचवटा सवालमा काम अघि बढाउने छ । सिलगढी–झापा पेट्रोलियम पाइपलाइनको विस्तृत आयोजना प्रतिवेदन संयुक्त अध्ययन टोली गठन भएको चार महिनामा सकिने गरी काम सुरु हुने घिमिरेको भनाइ छ । सो पाइपलाइनको दूरी ३७ किमी रहने छ । झापामा आयल ‘टर्मिनल’ भण्डारण तथा पूर्वाधार निर्माणको विस्तृत प्रतिवेदन तयार गरने छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म आएको पाइपलाइन विस्तार गरी चितवनको लोथरसम्म ल्याउन विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्नेछ । संयुक्त अध्ययन समितिले दुई महिनामा सो काम सम्पन्न गर्ने छ । लोथरमा भण्डारणलगायतका भौतिक पूर्वाधारको पनि प्रतिवेदन गरिने छ ।गत भदौदेखि सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको पूर्वाधार निर्माण र भण्डारण क्षमता निर्माणको काम पनि अघि बढाइने भएको छ ।

सो आयोजनाको दोस्रो चरणको काम बाँकी रहेकाले विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गरिने सहसचिव घिमिरेले बताए । उनले भने, “संयुक्त अध्ययन समूहले काम थालेको एक महिनामा प्रतिवेदन तयार गरेर काम अघि बढाउँछौँ ।”संयुक्त कार्यसमूहले नेपालमा रहेका डिपो तथा भण्डारणहरूको अध्ययन पनि गर्ने भएको छ । भविष्यका लागि आवश्यक पर्ने भण्डारण क्षमताको पहिचान र डिपोको अध्ययन गरी समग्रमा नेपालभर पाइपलाइनको नक्साङ्कन गर्ने योजना अघि सारिएको छ ।

त्यसका लागि संयुक्त अध्ययन समूहले काम गरेको पाँच महिनामा अवधारणापत्र पेस गर्नेछ । घिमिरेले भने, “उल्लेखित कामको विस्तृत अध्ययन प्रतिवेदन आइसकेपछि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच काम अघि बढाउने समझदारी पत्रमा हस्ताक्षर हुन्छ, यो काम संयुक्त कार्यसमूहले गर्नेछ ।”

सिलगढी–झापा पाइपलाइनको अध्ययनका लागि निगमका प्रवक्ता वीरेन्द्र गोइत, अमलेखगञ्ज–लोथर पाइपलाइनका लागि निगमका निर्देशक पूर्णप्रसाद रिजाल, अमलेखगञ्ज डिपो स्तरोन्नतिका लागि निर्देशक दीपक बराल, रुपन्देहीसम्म प्राकृतिक ग्यास परियोजनाका लागि निर्देशक करुण क्षेत्रीको नेतृत्वमा समिति गठन गरिएको छ ।