नवनियुक्त महानिरीक्षक ज्ञवालीले गरे पदभार ग्रहण

काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन् ।

बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक आइजीपी ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो।

२६ औं आइजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो । यसअघि नायव महानिरीक्षक डीआइजी रहेका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत थिए। दर्ज्यानी चिन्ह ग्रहण पछि आइजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शीरुपमा सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति पूर्णरुपमा जवाफदेही रहने वाचा गरे।

उनले कुनै प्रकारको आक्रमण्यता र गैह्र व्यवसायिक आचरणलाई पूर्णतः निर्मूल गर्ने प्रण पनि गरेका छन्। गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रसाशन मातहतको उत्कृष्ट नमुना संगठनका रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिवद्धता उनले गरेका छन् ।

ज्ञवालीले जस्तोसुकै चुनौतीमा पनि उच्च व्यवसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्यपथमा समर्पित रहने वाचा पनि गरे। उनले प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु आफ्नो कर्तव्यमा प्रतिवद्ध रहेको समेत बताए।