१ सय २० अधिकृत अलपत्र, पत्र लिएर महिनौं भौतारिए

काठमाडौं, २७ माघ । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नु अगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् ।

लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय तहमा पठाएको थियो । त्यसरी पठाइकामध्ये स्थानीय तहमा पद नभएपछि १ सय २० जना अधिकृत केन्द्रमा नै फर्कन बाध्य भएका हुन् । उनीहरू अधिकृतको पत्र लिएर कहिले स्थानीय तहमा त कहिले केन्द्रीय निकायमा भौंतारिन विवश छन् । अलपत्र परेका अधिकृतको समाधानका लागि केन्द्र सरकार र स्थानीय तह दुवैले चासो नदिएको उनीहरूको गुनासो छ ।

यसअघि स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अधिकृतको माग गरी लोकसेवा आयोगलाई पदपूर्ति गर्न भनेको थियो । सोहीअनुसार आयोगले पदपूर्ति गरे पनि आयोगको पदपूर्ति प्रक्रिया सकिनुअगावै स्थानीय तहका ती रिक्त पदमा अन्य कर्मचारी समायोजन भएकाले समस्या आएको हो ।

स्थानीय तहबाट फर्कन विवश भएका १ सय २० जना अधिकृतले आफूहरूको उचित व्यवस्थापन हुनुपर्ने माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । लोकसेवाबाट नियुक्ति पाएको महिनौं बितिसक्दा पनि उनीहरूले हाजिर गर्न पाएका छैनन् । स्थानीय तह र सामान्य प्रशासन मन्त्रालयको गम्भीर लापारवाही र त्रृटिका कारण आफूहरू अलपत्र पर्नुपरेको उनीहरूले बताएका छन् ।

लोकसेवाबाट विज्ञापन भएका पदहरूमा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको समायोजन गर्न नहुने र ती पदमा समायोजन भएका कर्मचारीलाई फिर्ता गर्नुपर्ने माग उनीहरूको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले अलपत्र परेका अधिकृतको व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको बताए ।

उनीहरूलाई स्थानीय तहकै अन्य रिक्त स्थानमा पठाउने तथा उनीहरूको पदमा समायोजन भएकालाई फिर्ता गरी सोही पदमा पठाउने भन्ने विकल्पबारे छलफल भइरहेको बरालले जानकारी दिए ।

Loading...