मनाङमा पक्की धावनमार्ग बनेको सात वर्षसम्म पनि चलेन जहाज

मनाङ, २० माघ । पक्की धावनमार्ग बनेको ७ वर्षपछि गत भदौ २७ गते हिमाली जिल्ला मनाङमा जहाज अवतरण भयो । समिट एयरको परीक्षण उडानबाट हुम्डे विमानस्थल ओर्लिएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले असोज १० गतेदेखि मनाङमा नियमित उडान हुने बताए ।

भाषण गरेको चार महिना बित्दा पनि विमानस्थलमा त्यसपछि जहाज नआएको ङिस्याङ गाउँपालिका–४, हुम्डे मनाङकी विष्णु गुरुङले बताइन् । मन्त्री लम्सालले नियमित उडानसँगै मनाङमा चारदिने प्याकेज बनाउने घोषणा गरेका थिए । आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मनाङको हुम्डे विमानस्थलमा नियमित उडान गरिने उनको भनाइ थियो ।

तर, मन्त्रीको कुरा भाषणमै सीमित भयो । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले उडान नहुँदा मनाङवासी समस्यामा परेको बताए । ‘हामीलाई पटक–पटक झुक्याइयो,’ उनले भने, ‘बरु, नसक्ने भए सकिँदैन भन्दा राम्रो हुन्छ ।’ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मनाङमा जहाज लाने पहल भइरहेको बताएका छन् ।

‘यसअघि विविध कारणले भएन । हामी छलफलमै छौँ,’ उनले भने । नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरेर धुले धावनमार्गलाई विस्तार गरी कालोपत्रे बनाएको थियो । ६ सय मिटरको धावनमार्ग ९ सय मिटर बनाइएको छ । तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी चढेर मंसिरमा धावनमार्गमा जहाज परीक्षण गरिएको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेकै छैन ।

कालोपत्रे गर्नुअघि वायुसेवा निगमले सातामा २ पटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भरेको थियो । हरेक वर्ष असार १६ र पुस १६ देखि मौसममा आएको खराबीका कारण २–२ महिना सूचना जारी गरेरै हवाई उडान स्थगित गर्दै आएको थियो । ३ हजार ३ सय ३० मिटर उचाइमा अवस्थित विमानस्थलमा पोखरा–मनाङबाट २५ मिनेट लाग्छ । हुम्डेमा ०३९ असोजबाट उडान सुरु गरिएको थियो । कालोपत्रे भएको दुई वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरेको थियो । गत वर्ष एउटा ट्विनेटर जहाजले चार्टर उडान भरेको थियो ।

पछिल्लो समय गएको पुस २४ र असार २० मा जहाज उडाउने तयारी गरिए पनि सफल नभएको मनाङ–ङिस्याङ गाउँपालिकाका अध्यक्ष घलेले बताए । ‘हुम्डे हवाई मैदान नेपालकै सुन्दरमध्येमा पर्छ । यति राम्रो र सुन्दर ठाउँ भए पनि जहाज नआएको ६–७ वर्ष भयो,’ उनले भने । नियमित उडान भए मनाङ पुगेका पर्यटक केही दिनको बसाइपछि थोराङपास पुगेर मुस्ताङको जोमसोम हुँदै पोखरा फर्किन सक्ने गुरुङको भनाइ छ ।

Loading...