माटोको हित चिताएर काम गरौं

काठमाडौं २० माघ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल २८ वर्षपछि जागिरबाट निवृत्त भएका छन ।यही माघ १७ गते उमेर हदका कारण निवृत्त भएका पौडेल निजामती सेवामा २०४८ माघ १८ गते प्रवेश गरेका थिए । शाखा अधिकृतबाट सेवा शुरू गरेका पौडेल सहसचिवको रूपमा नौ वर्ष बिताएर रिटायर्ड भएका छन ।

सरकारले चाहँदा पौडेल सचिवमा बढुवा भई निवृत्त हुन सक्थे । यही माघ २० गतेबाट ५ जना सचिव सेवा निवृत्त हुँदै गर्दा सहसचिव पौडेल तीन दिन अघि नै रिटायर्ड भए । उनि निवृत्त हुने समयमा दुईजना सचिव रिटायर्ड भइसकेकाले सो पद खाली रहेको थियो ।

ती मध्ये एकमा पौडेललाई बढुवा गर्न सकिन्थ्यो । ‘सरकारले विवेक पुर्याउन सक्थ्यो तर त्यसो भएन’ पौडेल नजिक रहेका एक कर्मचारीको गुनासो थियो । कास्की जिल्ला स्थायी निवासी पौडेल निजामति सेवामा आउनु अघि करिब चार वर्ष शिक्षण पनि गरेका थिए । त्यस्तै चारवर्ष स्रोत व्यक्तिको रुपमा पनि सेवा गरे ।

निजामती सेवा प्रवेश गर्दा सुर्खेतस्थित मध्यपश्चिमाल क्षेत्रीय शिक्षा निर्देशनालयबाट नियुक्ति लिई उनले काम थालेका थिए । उपसचिवमा बढुवा भएपछि विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारीको रूपमा सेवा गरेका पौडेलसँग कामु क्षेत्रीय निर्देशकको भूमिका निर्वाह गरेको अनुभव छ ।

सहसचिवमा बढुवा भएपछि क्षेशिनि, अनौपचारिक शिक्षा केन्द्रको निर्देशक, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक र अन्त्यमा शिक्षा विभाग हुँदै उनि हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा रहेर रिटायर्ड भएका छन ।

सरकारी सेवामा रहेर उल्लेखनीय काम गर्न पाउँदा आफूलाई खुशी लागेको उनको अनुभूति छ । साथै, थुप्रै नमिठो अनुभव पनि उनिसित रहेका छन् ।अवकाशपछि पनि उत्तिकै सक्रिय रहेर समाज र देशको सेवामा आफू रहने पौडेल बताउछन । हाल कार्यरत सहकर्मी कर्मचारीहरूलाई पौडेलको आग्रह छ, ‘मैले के दिन सकेँ भनेर उच्च मनोबलका साथ माटोको हित चिताएर काम गरौं ।’

Loading...