प्रहरीकै अगाडि एक युवाले प्रदर्शनकारीमाथि चलाए गोली, गोली लागेर विश्वविद्यालयकी छात्रा घाइते

नयाँदिल्ली, १६ माघ । नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक युवाले गोली चलाएका छन् ।

बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीलाई ताकेर ती ‘सन्की’ युवकले गोली चलाएका हुन् ।
ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो । आफ्नै अगाडि खुल्लमखुला एक सन्की युवकले गोली चलाउँदा पनि प्रहरी मुकदर्शक बनेको भिडियोमा सार्वजनिक भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ती युवकले ‘वन्दे मातरम’, ‘भारत माताकी जय’ र ‘दिल्ली पुलिस जिन्दाबाद’ नारा लगाउँदै प्रदर्शनकारीमाथि गोली चलाएका थिए ।

प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ती युवकले प्रहरीसँग आफ्नो नाम गोपाल भएको बताएका छन् । साथै उनले आफू ‘रामभक्त’ भएको बताएका छन् । गोली प्रहारबाट जामिया मिलिया विश्वविद्यालयकी एक विद्यार्थी घाइते भएकी छिन् । प्रहरीले गोली चलाउने युवक को हुन् भन्नेबारेमा अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ ।

Loading...