नयाँ दिल्ली, १६ माघ । वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ ।
आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसको जानकारी ट्विटरमार्फत कन्हैया कुमारले जानकारी दिएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘आज बापू-धाम (चम्पारण) बाट गान्धीजीलाई नमन गरेर गरिब विरोधी नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता पञ्जीकरणको विरोधका लागि एक महिनाको जन-गण-मन यात्रा सुरु हुँदै थियो । विभिन्न क्षेत्रका मानिसहरु यस यात्रामा सामेल हुन उपस्थित हुँदै थिए । तर, प्रशासनले केही समयअघि सबैलाई हिरासतमा लिएको छ ।’
उनले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दै आएका थिए । जेएनयूमा छँदा उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो । हिरासतमा लगिएपछि कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्याली गर्न पनि अनुमति लिनुपर्छ । जसरी सरकारले विना जानकारी हिजो राति क्यान्सिल गरिदियो । अब स्वास लिन पनि अनुमति लिनुपर्ला । प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर । हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो । प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन ।’
को हुन् कन्हैयाकुमार ?
सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार । उनका बुवा जयशंकर सिंह केही वर्षदेखि प्यारालाइसीसबाट थलिएका छन् । आमा मिनादेवी एउटा बालस्याहार केन्द्रमा काम गर्छिन् । दाजु मणिकान्त एउटा प्राइभेट अफिसका जागिरे हुन् । कन्हैया उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् ।
आफ्नो गाउँ नजिक रहेको मस्नापुरस्थित एक विद्यालयमा कन्हैयाले ६ कक्षासम्म पढेका थिए । त्यसपछि बराउनीमा रहेको आरकेसी स्कुलबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । १० कक्षा पास भएपछि उनले छिमेकी गाउँ मोकामामा रहेको आरआर सिंह कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यहाँ प्रमाणपत्र तहको अध्ययनपछि स्नातक पढ्न पटना गए । २००७ मा कलेज अफ कमर्सबाट उनले भूगोलमा स्नातकतकोत्तर अध्ययन पूरा गरे ।
अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरु युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ अध्ययन गर्ने क्रममा नै उनको जीवनले नयाँ मोड लियो र उनी देशब्यापी चर्चित बने ।
आमाले कन्हैयालाई प्रोफेसर बनाउन चाहन्थिन् । तर, कलेजका दिनहरुमा कन्हैया राजनीतितर्फ आकृष्ट भए । उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई) को विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए । एआईएफसीले जेएनयू स्टुडेन्ट यूनियनमा अध्यक्ष जितेको त्यो पहिलोचोटि थियो ।
जेएनयूमा पढ्दै गर्दा सन् २०१६ को फेबु्रअरीमा कन्हैयार्लाइ प्रहरीले केही साथीहरुसहित पक्राउ गर्यो । उनीहरुविरुद्ध क्याम्पसभित्र अराजक गतिविधि गरेको आरोप लगाइएको थियो ।
भारतीय संसदमा भएको आक्रमणका आरोपी अफजल गुरुलाई फाँसी दिने निर्णयको विरोध गर्दै कन्हैयाको नेतृत्वमा क्याम्पसमा प्रदर्शन गरिएको र काश्मिरलाई समेत जोडेर राष्ट्रविरोधी नारा लगाइएको भन्दै भाजपाका एक नेताले प्रहरीमा उजुरी गरेका थिए । क्याम्पस प्रशासनले समेत उनलाई १० हजार भारु जरिवाना गराएको थियो । तर, कन्हैयाले राष्ट्रविरोधि नारा लगाएको आरोप अस्वीकार गरेका थिए । पछि अदालतले क्याम्पसको निर्णयलाई अवैध र अविवेकी ठहर गरेको थियो ।
कन्हैया कुमारको गिरफ्तारीको विपक्षी पार्टी, विद्यार्थी तथा बुद्धिजिवीहरुले कडा विरोध गरे । जेएनयूका विद्यार्थीहरुले लामो समय हड्ताल गरे । पटियाला हाउस कोर्टमा कन्हैयालाई उपस्थित गराइँदा त्यहाँ पुगेका जेएनयूका प्रोफेसर विद्यार्थीका साथै पत्रकारमाथि आक्रमण भएको थियो । आक्रमणमा भाजपाका सांसद समेत संलग्न थिए ।
सन् २०१६ को मार्च २ मा दिल्ली उच्च अदालतले कन्हैयालाई ६ महिनाका लागि १० हजार भारुको अन्तरिम धरौटी दियो । न्यायाधिस प्रतिभा रानीले कन्हैयाले राष्ट्रविरोधि नारावाजी गरेको कुनै प्रमाण नभेटिएको बताइन् ।
रिहा भएको भोलीपल्ट कन्हैयाले जेएनयू क्याम्पसको भरिभराउ अडिटरियममा भाषण दिए । जसमा उनले भारतबाट स्वतन्त्रता खोजेको नभएर भारतभित्र स्वतन्त्रता खोजेको बताएका थिए । भाजपा समर्थित राष्ट्रिय स्वयम्सेवक संघले भारतलाई सम्प्रदायका आधारमा विभाजन गर्न खोजेको उनले आरोप लगाएका थिए । उनले आजादी (स्वतन्त्रता) को नारा लगाएर भाजपाइतर सम्पूर्ण शक्तिहरुलाई आफूतर्फ ध्यानाकर्षण गराउन सफल भए ।
अदालतबाट धरौटीमा छुटपछि कन्हैयालाई ज्यान मार्ने धम्कीहरु आउन थाले । भाजपाको युवा संगठनका एक नेताले त उनको जिभ्रो काट्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा नै गरे । साथै उनलाई गोली हान्नेलाई ११ लाख दिने भनेर नयाँ दिल्लीमा पोस्टरहरु टाँसिएका थिए ।
८ मार्च २०१६ मा अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सम्वोधन गर्दै कन्हैयाले काश्मिरी महिलाको बलत्कारमा भारतीय सेना संलग्न भएको आरोप लगाएका थिए ।
अर्को उनको बलियो पक्ष हो राष्ट्रिय छवि । उनी देशले नै आशा गरेका युवा नेता हुन् । खासगरी अल्पसंख्यक र सिमान्तकृत जनताको समुहले उनलाई भरोसा गरिरहेको छ । मुस्लिम समुदायले समेत कन्हैयाप्रति सहानुभूति राख्छन् । तर, आरजेडीले मुस्लिम उम्मेदवार उठाएकाले उनलाई घाटा लाग्नेछ । -एजेन्सीहरुको सहयोगमा