ओलीले घोषणा गरेको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल आधुनिक सभाहल धमाधम निमार्ण हुदैँ

बुटवल, १५ माघ। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदिएको थियो । सोहि कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय रोकिनुपर्‍‍‍यो ।हावाहुरीले कार्यक्रम पूरै प्रभावित भयो । त्यतिबेलै प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए अब लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक ध्यान गर्न मिल्ने सभाहल बनाउने ।

प्रधानमन्त्रीले लुम्बिनीमा अस्थायी संरचना बनाएर खर्च गरिरहने भन्दा स्थायी प्रकृत्तिको अन्तर्राष्ट्रिय ध्यानकेन्द्रसहितको विशाल सभाहल बनाउने घोषणा गरे । अहिले उनले घोषणा गरे अनुरुपको भव्य सभाहल निर्माण भइरहेको छ । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि अहिले लुम्बिनीमा दक्षिण एसियाकै नमुना बौद्ध ध्यान केन्द्र तथा सभाहल बनिरहेको छ ।

बुद्धजयन्तीको अवसरमा ०७५ बैशाख १८ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सभाहलको शिलान्यास गरेकी थिईन् । ३२ करोड लगानीमा निर्माण भइरहेको उक्त सभाहल २२ महिनामा सम्पन्न गर्नेगरी झण्डै डेढ वर्षअघि यसक्षेत्रको प्रतिष्ठित निर्माण कम्पनी बाबुल निर्माण सेबाले सम्झौता गरेको थियो ।

सम्झौता गरेको मितिमै निर्माणसक्नेगरी अहिले काम भइरहेको छ । आगामी चैत मसान्तसम्म सक्नेगरी सम्झौता भएको थियो । अहिले करिब ७० प्रतिशत जति काम पूरा भएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिक अहमद खानले जानकारी दिए। उनले आउँदो बुद्ध पूर्णिमाको कार्यक्रम यहीँ स्थानमा गर्न मिल्नेगरी संरचना निर्माण भइरहेको बताए ।


यद्यपि फिनिसिङको सबै काम भने त्यतिबेलासम्म सकिने अवस्था छैन । संरचना निर्माण भएको स्थानमै कार्यक्रम गर्न मिल्नेगरी अहिले काम भइरहेको छ ।

हालैको लगातारको हिउँदे झरी र अत्याधिक चिसोका कारण झण्डै एक महिनाजति ढिलाई भएको निर्माण कम्पनीका प्राविधिक निर्देशन इन्जिनियर सन्तोष अधिकारीले जानकारी दिए । अहिले दैनिक एक सय २० जनासम्म कामदार दुई सिफ्टका काममा खटिएका छन् । उनीहरुमध्ये ५० जना त वेल्डिङको काम गरिरहेका छन् ।

भवनमा प्रयोग गरिने सामग्रीहरु अहिले लुम्बिनीसहित विभिन्न ठाउँमा बनिरहेका छन् । त्यसरी तयार भएका सामाग्रीलाई यहाँ ल्याएर संरचनामा जोडिने छ । सभाहलको छाना कोरियाली प्रविधिमा निर्माण भइरहेको बताइएको छ । अहिले सभाहल, कन्ट्रोलरुम, र दुईवटा शौचालय निर्माणका काम चलिरहेका छन् ।

सभाहलको भवन मात्रै करिब डेढ विगाह क्षेत्रफलमा निर्माण भइरहेको छ । इन्जिनियर अधिकारीका अनुसार यहाँ आठ हजार भन्दा धेरैजना मानिस अट्न सक्छन् । तर, ध्यानकेन्द्र बनाउने भनिएकाले खुला क्षेत्र धेरै छाडेर मात्र पाँच हजार जना बस्नेगरी संरचना बनाइएको छ ।

भवनको पूरै ११ हजार स्क्वायरमिटरको क्षेत्र ध्यानकेन्द्र तथा सभा गर्न मिल्ने ठाउँ हो । यसका अतिरिक्त ध्यानकेन्द्र तथा सभाहलको वरपर बुद्धकालिन रुखबृक्ष कल्पबृक्ष, फलफुलका विरुवासहितको हरियाली बनाइने छ भने बाटो पनि सोही अनुरुपको हुने छ ।

सभाहलको निर्माण भएपछि बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अर्को आकर्षक केन्द्र बन्ने लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए।लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन, साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रबद्र्धनमा समेत यस्ले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कोषको छ ।

Loading...