काठमाडौं, १० माघ । एकातिर लाखौ युवा रोजगारी नपाएर खाडी भासिँदैछन् भने ९ महिनाअघि कर्मचारी समायोजनका क्रममा साढे ९९ हजारभन्दा धेरै कर्मचारी समायोजन गरिएको भएपनि कर्मचारीको अभाव कायमै रहेको छ । अहिले पनि स्थानीय तहहरुमा ३८ हजार ४० कर्मचारी अभाव छ । प्रदेश २ को जनकपुरधाम उपमहानगरपालिको शिक्षा शाखामा कर्मचारी दरबन्दी सात जनाको छ ।
तर अहिले दुईजनाले काम चलाउनु परेको शिक्षा शाखा प्रमुख एवम् महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख मेहिलाल यादवले बताए । सुदूरपश्चिम प्रदेशमा २६ सय ३० कर्मचारी दरबन्दी हो । झन्डै १५ सय कर्मचारी समायोजन भएका थिए तर अहिलेसम्म १ सय २५ कर्मचारी नपुगेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बालकृष्ण घिमिरेको भनाई छ ।
कर्णाली प्रदेशमा दुई हजार तीन सय ५४ कर्मचारीको दरबन्दी छ । १३ सय ४८ कर्मचारी समायोजन भए पनि पूर्ति हुन बाँकी कर्मचारी प्रशासनतर्फका धेरै छन् । लोकसेवा आयोगले कर्मचारी सिफारिस गरेर पठाउने प्रावधान भएको र अब सबै प्रदेशमा भएका लोक सेवा आयोगले अब पदपूर्ति गर्नको लागि प्रक्रिया अगाडि बढाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम प्रवक्ता भुपाल बरालले बताए ।
गत साउन एक गतेदेखि आउँदो असारसम्म संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका मध्ये २९ सय ३७ कर्मचारीले उमेर हदका कारण अवकास पाउनेछन् । गएको पुसको दोस्रो सातासम्म १४ सय ३३ कर्मचारीले उमेर हदका कारण अवकास लिए भने केहिले स्वेच्छिक राजीनामा दिएका कारण पनि कर्मचारी अभाव घट्न सकेको छैन ।