सुन तस्करी बढ्दो क्रममा

काठमाडौँ, २७ पुस । नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । सो महिनामा सुनको मूल्य न्यूनतम ७१ हजार तीन सय रुपियाँदेखि अधिकतम ७१ हजार आठ सय रुपियाँ पुगेको थियो ।

त्यस्तै कात्तिकमा एक हजार ९० ग्राम सुन पक्राउ परेको भन्सार विभागले जनाएको छ । यस महिनामा सुनको मूल्य ६९ हजार नौ सय देखि ७१ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै मङ्सिरमा पनि नौ हजार २७२ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । यो महिनमा सुनको मूल्य ७१ हजार तीन सय रुपियाँबाट उकालो लाग्दै ७१ हजार आठ सय रुपियाँसम्म कारोबार भएको छ ।

असोजदेखि मङ्सिरसम्म नेपाली बजारमा सुन अधिकमा बिक्री हुने गरेको छ । यी महिनमा दैनिक ३० केजीसम्म सुनको कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यद्यपि दैनिक ३० केजीको आपूर्ति अपुग भएको भन्दै व्यवसायीले ५० केजीसम्म हुनुपर्ने बताए । पुस २४ गतेसम्मको तथ्याङ्क हेर्दा सात हजार ८०२ ग्राम सुन समातिएको छ । यो अवधिमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै ७६ हजार ५०० रुपियाँ कामय गरिसकेको छ ।

त्रिभुवन विमानस्थल भन्सार विभागका प्रमुख राजकुमार अधिकारी नेपाली बजारमा मूल्य बढ्न थालेपछि तस्करी सुन बढी भित्रन खोज्ने प्रवृत्ति देखिएको बताए । विभिन्न मुलुकबाट नयाँनयाँ तरिका अपनाउँदै सुन तस्करी गर्नेहरूमा चिनियाँ र भारतीय नागरिकहरूको बढी संलग्नता रहने गरेको देखिएको उनको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीमा लामो समय बसेर स्वदेश फर्किने केही नेपालीलाई पनि तस्करहरूले भरियाका रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रमुख अधिकारीले बताए ।

वैदेशिक रोजगारीबाट फर्कने नेपालीले झिटीगुम्टाअन्तर्गत भन्सार शुल्क तिरेर एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने छन् । त्यस्तै ५० ग्रामसम्मको गहना ल्याउँदा भन्सार शुल्क लाग्दैन । २५० ग्रामसम्म भने भन्सार तिरेर गरगहना ल्याउन सक्ने व्यवस्था गरिएको छ ।

Loading...