काठमाडौं, १४ पुस । सिंहदरबार अगाडिबाट आइतबार पक्राउ परेका नेकपा क्रान्तिकारी माओवादी का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता आज सोमबार छुटेका छन् ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका केही सोही दिन छुटे । तर, गजुरेल भने सोमबार बिहान मात्र रिहा भएका छन् ।
आफू भर्खरै मात्र छुटेको जानकारी दिंदै नेता गजुरेलले भने, ‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदा समेत यो सरकारले नियन्त्रणमा लिएको छ । यो सरकार फाँसीवादतर्फ उन्मुख भएको संकेत हो ।’ सीमा मिचिएको नितान्त जायज विषय लिएर जाँदा गरिएको धरपकडले त्यसको छनक दिएको उनको आरोप छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर र गृहमन्त्री रामबहादुर थापा बादल लाई जानकारी गराएर सिंहदरबारभित्र जान खोज्दा पनि नियन्त्रणमा लिइनु सुनियोजित भएको गजुरेलले आरोप लगाए ।
‘हामी ज्ञापनपत्र बुझाउन जाँदैछौं भन्ने उपप्रधान तथा रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो । उपप्रधानमन्त्रीले त समय नै दिएका हुन’, गजुरेलले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ ।’