काठमाडौ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो । वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा निर्णय गरेको बताए । सबै पक्षहरुलाई ध्यानमा राख्दै साझा नामाकरण गर्न आवश्यक रहेकाले प्रदेशको नाम बाग्मती राख्ने र केन्द्र तत्कालका लागि हेटौडा नै कायम गर्ने निर्णय बैठकले गरेको उनले बताए ।
बैठकमा सभामुख चयन र राष्ट्रिय सभा निर्वाचनको विषयले भने प्रवेश नै पाएन । नेकपाका महासचिव विष्णु पौडेलले समय अभावका कारण बैठकमा सभामुख चयन र राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल हुन नसकेको बताए । उनले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशनको बारेमा स्थायी कमिटीको निर्णय बमोजिम नै हुने बताए ।