चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’

काठमाडौं, ८ पुस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । उनी जनवरी महिनाभित्रै चीन जाँदैछन् ।ती अधिकारीले भने, ‘यो दुई देशबीच भएको ठूलो सुरक्षा समन्वय हो । नेपालमा अपराध गरेर चीनमा लुक्नेलाई ल्याउन पनि यसले सहयोग गर्नेछ ।’

सोमबार चलाइएको अपरेसनमा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट १२२ जना पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी भाषा नबोलेका कारण बयान लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।भाषा अनुवादक बोलाएर सोधपुछ गर्ने काम भइरहेको एक अनुसन्धान अधिकृतले भने, ‘उनीहरुले नेपाललाई हानि पुर्‍याउने गरी काम गरेको देखिँदैन । तर, चीनतर्फ भने अपराध गरिरहेको देखिएको छ ।’

Loading...