निर्देशनलाई निरन्तरता दिइरहनेमा दीपाश्री निरौला र झरना थापा जसका फिल्म फ्लप भएनन्

काठमाडौं, ७ पुस। नेपाली रजतपटमा महिला निर्देशकको संख्या न्यून छ । वार्षिक सयको हाराहारीमा चलचित्र रिलिज हुँदा महिला निर्देशकद्वारा निर्देशित चलचित्रको भेट्न मुस्किल छ । एकाधले चलचित्र निर्देशनलाई निरन्तरता दिए पनि अधिकांशले एउटा निर्देशनपछि पेसै छाड्ने गरेका छन् । पछिल्लो समय निर्देशनलाई निरन्तरता दिइरहनेमा दीपाश्री निरौला र झरना थापा हुन् ।

दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिजलाई निर्देशन गर्दै आएकी छिन् भने झरनाले ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ निर्देशन गरेकी छन् । झरना अहिले ‘ए मेरो हजुर ४’ निर्देशनको तयारीमा छिन् । उनले अनमोल केसी र छोरी सुहानालाई अनुबन्ध गरिसकेकी छिन् । यी दुई निर्देशकका सबै चलचित्र बक्स अफिसमा सफल छन् । ‘छक्का पञ्जा’ का सबै सिरिजले बक्स अफिसमा कलेक्सनको ‘रेकर्ड ब्रेक’ गरेका छन् । झरनाका चलचित्रले पनि राम्रोे ग्रस कलेक्सन गरेका थिए । अनुभवी निर्देशकका चलचित्रसमेत घाटामा गइरहेका बेला दीपाश्री र झरनाले अहिलेसम्म यो नियतिको सामना गर्नुपरेको छैन ।

यी दुवै निर्देशक अभिनयको पृष्ठभूमिबाट निर्देशनमा आएका हुन् । अभिनयको बाटो हुँदै निर्देशनसम्म फड्को मार्ने नायिका हुन् दीपाश्री । टेलिचलचित्रमा अभिनय गरेकी उनले हास्य टेलिचलचित्र ‘तीतो सत्य’मा लामो समय सहायक निर्देशक भएर काम गरेकी थिइन् । झरना दुई दशक नायिकाका रूपमा अभिनयमा रहेर उनी निर्देशनमा फड्को मारेकी थिइन् । उनी आफ्नै ब्यानरका चलचित्र निर्देशन गर्दै आएकी छन् । निर्माता सुनीलकुमार थापा झरनाका पति हुन् भने सुहाना थापा छोरी हुन् । सुहानालाई झरनाले आफ्नै चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली चलचित्र नगरीमा भित्रिएकी हुन् ।

रेनेशा राईले पनि चलचित्र निर्देशन गरेकी छिन् । कोरियोग्राफरबाट निर्देशकमा फड्को मारेकी उनले एउटा चलचित्र निर्देशन गरेकी छन्, ‘इन्टुमिन्टु लन्डनमा’ । उनको यो चलचित्रले पनि राम्रो कलेक्सन गर्‍यो ।झरना आफ्ना चलचित्र चल्नुमा धेरै कारण रहेको बताउँछिन् । प्रोडक्सन हाउसको ब्रान्ड, ‘ए मेरो हजुर’ को ब्रान्ड र आफ्नो नाम पनि आफ्ना चलचित्र सफल हुनुको मुख्य कारण रहेको उनी बताउँछिन् ।

“दर्जनौं चलचित्रमा सफल अभिनेत्रीको भूमिका निर्वाह गरें । पहिलो चलचित्रमा सफल नायिका झरनाले कस्तो चलचित्र निर्देशन गर्ने हो भन्ने दर्शकलाई प्रतीक्षा थियो,” झरना भन्छिन्, “दोस्रोमा ‘ए मेरो हजुर २’ बाट दर्शकको मन जितेको थिएँ । झरनाले राम्रो चलचित्र बनाउन सक्छे भन्ने छाप परेको थियो । अर्को पक्ष अनमोल पनि हो । उसको आफ्नै स्टारडम छ । र, अर्को सुहाना पनि हो । झरनाकी छोरीले कस्तो काम गरेको होला भनेर मलाई माया गर्ने दर्शक वेटिङमा हुनुहुन्थ्यो ।”

दीपाश्री चलचित्र ‘होल टिम’ को मिहिनेतको उपज भन्छिन् । ‘छक्का पञ्जा’ सँग जोडिएका सबै व्यक्तिको मिहिनेतकै कारण चलचित्र राम्रो भएको उनी बताउँछिन् । “चलचित्रमा दीपाश्री पनि केही होइन । कुनै एउटा पात्रमात्रै पनि केही होइन । सबैभन्दा ठूलो कुरा टिम हो,” दीपाश्री भन्छिन्, “चलचित्रको मेरुदण्ड भनेको स्क्रिप्ट हो । चलचित्रमा ७५ प्रतिशत स्क्रिप्ट बोल्छ । २५ प्रतिशत मात्रै हो निर्देशकले फिल्डमा गएर निर्देशन गर्ने । पछिल्लो समयमा त एंगलसमेत सिनेम्याटोग्राफरले दिन्छ । क्यारेक्टरअनुसार कथा बगेको छरछैन, त्यो मात्रै निर्देशकले हेर्ने हो ।”

झरना, दीपा र रेनेशासँगै सुचित्रा श्रेष्ठ, रक्षासिंह राणा, दीपा बस्नेत, सम्झना उप्रेती रौनियार, सिर्जना बस्नेत, निलु डोल्मा शेर्पा, सबु सुवेदीुरअनिशा खड्का, लक्षु गौतम, समुद्र भट्ट, रेखा थापा र संगीता श्रेष्ठ महिला निर्देशक हुन् । सुचित्रा भने पहिलो महिला निर्देशक हुन् ।

Loading...