नबिल बैंकको नबिल सजिलो एक्सप्रेस कर्जा योजना

भक्तपुर, ७ पुस । नबिल बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ३५ घण्टाभित्र साना तथा मझौला उद्यम कर्जा दिने गरी सो योजना सार्वजनिक गरिएको हो । कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित ‘क्रेडिट स्कोरिङ मोडल’ अर्थात् कर्जा अंकन ढाँचाका आधारमा बैंकले यो योजना ल्याएको जनाएको छ ।

बैंकले यूडेएड सक्षमसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले उद्यम कर्जाका लागि आवेदन दिने ग्राहकको कर्जा स्वीकृत भएर नभएको ३५ घण्टाभित्र जानकारी दिइने बताएका छन् । बैंकले अधिकतम ७५ लाख रुपैयाँसम्म १०।५ प्रतिशत ब्याजदरमा यो कर्जा दिने उनले बताए । यो योजना साना तथा मझौला उद्यममा केन्द्रित रहेको बैंकले जनाएको छ ।

साना तथा मझौला क्षेत्रमा नबिलले आफ्नो ‘रफ्तार’ बढाउन यस्तो योजना ल्याएको पनि उनले बताए । उनले भने, “यो योजनाबाट साना तथा मझौला क्षेत्रमा ‘भ्याकुते छलाङ’ मार्छौं ।” नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजनाको सफलतापछि साना तथा मझौला क्षेत्रका लागि यो योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल पहिलो बैंक बन्ने बैंकले जनाएको छ ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिने गरी ‘आकर्षक प्याकेज’ का साथ यो योजना ल्याएको जनाएको छ ।

Loading...