फिलिपिन्स, ७ पुस । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौं जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् । रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।रक्सी सेवनका कारण बिरामी भएका ३ सय जना अस्पतालमा भर्ना भएका उनले बताए ।
उनीहरु सवैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् । पछाडि पारिएको अशिक्षित समुदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ ।