काठमाडौं । काठमाडौं महानगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ ।
स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत ५ वर्षदेखि सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा महानगरपालिका रहेको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालय निर्माण र यसको दिगो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिई निर्माणकार्य अघि बढाइने जानकारी गराए ।
एउटाले शौचालय बनाउने अर्कोले चलाउने कुरालाई महानगरले अब स्वीकार नगर्ने जानकारी गराउँदै उपाध्यक्ष बस्नेतले ननस्टप खबरसँग भने, ‘शौचालय निर्माण गर्दा त्यहाँ उपलब्ध हुने सुविधा र त्यहाँबाट उत्पादन भएको तरल फोहर व्यवस्थापनको पूर्ण योजना भएपछि मात्र काम अगाडि बढाउन मिल्छ ।’
एनआरएनले ल्याएको प्रस्तावमा शौचालय ४० फिट लम्बाइ र १६ फिट चौडाइको हुनेछ । यसभित्र पुरुषका लागि पिसाब गर्ने तीन युरिनल र दुई शौचालय हुनेछन् । त्यस्तै महिलाका स्यानिटरी प्याडको पनि व्यवस्थापन गर्न सक्नेगरी चार र अपाङ्गता भएका व्यक्तिका लागि एउटा शौचालय हुनेछ ।
त्यस्तै बच्चालाई प्याड फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध गरिनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो । हाल महानगरपालिकामा २८ सार्वजनिक शौचालय रहेका छन् । प्रयोगमा रहेकामा पनि अत्यावश्यक सामग्री साबुन र पानीसम्म राखेको पाइँदैन ।