काठमाडौं, २२ मंसिर । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ सभामुखका बिषयमा छलफल थालेका छन् । सभामुख कृष्णबहादुर महरा बलात्कारको अभियोगमा जेल परेपछि नयाँ सभामुखका बिषयमा दुई अध्यक्षले छलफल थालेको नेकपा नेता देवेन्द्र पौडेलले बताए ।
‘दुई अध्यक्षबीच नयाँ सभामुखका बिषयमा अनौपचारिक छलफल भइरहेको छ’ नेता पौडेलले भने ‘दुई अध्यक्षबीच सहमति भएपछि पार्टीभित्र छलफल हुन्छ ।’ प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि बालुवाटारमा आराम गरिरहेका छन् । ओलीलाई भेट्न दाहाल बालुवाटार जाने गरेका छन् । भेटमा दुई अध्यक्षबीच नयाँ सभामुखका बिषयमा छलफल हुन थालेको बालुवाटार स्रोतले बताएको छ ।
दुई पार्टीको एकीकरणपछि राष्ट्रपति र सभामुख भागबन्डा गरिएको थियो । राष्ट्रपति तत्कालिन एमालेले र सभामुख माओवादीले भागबन्डा गरेका थिए । तर अहिले सभामुख पूर्वएमालेकै भागमा पर्ने सम्भावना देखिएको छ । पूर्वसभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउने गरी दुई अध्यक्षबीच छलफल चलिरहेको स्रोतले बताएको छ ।
‘पछिल्लो समय नेम्वाङले सभामुख पद चाहनुभएको छ’ उनी निकट एक नेताले भने ‘नेम्वाङले इच्छा देखाएपछि दुई अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ’ ति नेताले भने । सभामुखका लागि तीन नेताको विशेष चाहना छ । नेम्वाङ, देव गुरुङ र पम्फा भूसालले सभामुखमा चाहना देखाएका छन् । संसद अधिबेशन बोलाउने समय आइसकेको छ । अधिबेशन बोलाउनुभन्दा पहिले नै नेकपाले सभामुखको टुंगो लगाउने भएको छ । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने संवैधानिक जटिलताका कारण उससभामुख जनमोर्चाकी दुर्गा सुवेदीलाई दिने लगभग सहमति भइसकेको छ ।