काठमाडौं २२ मंसिर । नेपालसँग सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली पठाउने तयारी गरेको थियो ।
तर दिल्लीले प्रधानमन्त्रीका विशेष दूत नेपालसँग सम्वाद गर्न अस्वीकार गरेको भारतीय मिडिया दी प्रिन्टले बताएको छ । दी प्रिन्टले प्रधानमन्त्रीका ओलीका बिशेष दूत नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको बताएको छ । सीमा विवाद बारे छलफल गर्न प्रधानमन्त्री ओली र सत्तारुढ दल नेकपाले नेता नेपाललाई भारत पठाउने तयारी गरेका थिए । भारतलाई नेता नेपाल विशेष दूतमा रुपमा आउने जानकारी पनि दिएका थिए । तर भारतले न कुटनीतिक नोटको जवाफ पठायो नत नेता नेपालका बारेमा कुनै जानकारी नै दिएको छ ।