भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा पुल निर्माणमा समस्या

कञ्चनपुर १० मङ्सिर । सीमा क्षेत्रको शारदा ब्यारेजबाट भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा समस्या भएको छ । निर्माण कम्पनीले डाइभर्सन बनाएर काम गरिरहे पनि बेलाबेला पानी निर्माणस्थलमै पुग्ने गरेको छ । ‘काम रोकिएको छैन, तर जुन गतिमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने ।

नदीमा पानी बढी भएका कारण निर्माण सामग्री ढुवानी तथा कामदारलाई आउजाउ गर्नसमेत समस्या भएको छ । एक्स्काभेटर तथा टिपरहरूमा पानी पसेर दुई–तीन दिनमै बिग्रन थालेको उनले बताए । भारतीय पक्षले शारदा ब्यारेजको पुल मर्मतका लागि भन्दै पूर्व र पश्चिमतर्फका पाँचवटा ढोका खोलिदिने गरेको छ । सामान्य अवस्थामा एक–दुई ढोका मात्रै खोलिन्थ्यो । महाकालीमा चार ठाउँमा डाइभर्सन बनाएर नदीलाई पूर्व र पश्चिमतर्फ मोडेर पुल निर्माणको काम हुँदै छ । नदीमा पानी बढी भएकाले थप दुई ठाउँमा डाइभर्सन बनाउनुपर्ने पाण्डेयले बताए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयसँगै महाकाली पुल आयोजनालाई पनि जानकारी गराइएको उनले बताए । अहिले पिलर निर्माणसँगै पाइलिङ र बनेको पिलरमाथि स्ल्याब राखिँदै छ । २०७४ सालदेखि निर्माण सुरु भएको पुलका १७ वटा पिलर बनेका छन् भने १७ पिलर निर्माण हुन बाँकी छन् । भारतीय पक्षले पुल मर्मतका लागि दुई महिनासम्म पाँचवटा ढोका खोल्ने जानकारी गराए पनि कुन समयमा खोल्ने भन्ने विषयबारे नखुलाएको महाकाली पुल आयोजनाका इन्जिनियर सुलभ न्यौपानेले बताए । कति बेला पानी बढ्ने हो भन्ने जानकारी नहुँदा निर्माणमा समस्या भएको उनको भनाइ छ ।

०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए । आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुल निर्माणका लागि कुमार श्रेष्ठ सिएफइसी जेभीसँग तीन वर्षभित्र काम सक्ने गरी तनि अर्ब २७ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

Loading...