भारत ७० औँ संविधान दिवस मनाउँदै,

नयाँ दिल्ली । भारतमा ७० औं संविधान दिवस मनाइँदै छ । संविधान दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । महाराष्ट्र राज्यमा सरकार गठनका क्रममा भएको अस्वस्थ राजनीतिक प्रतिश्पर्धा र अनेक दाउपेचका कारण रुष्ट भएका विपक्षी दलले भने संविधान दिवसका अवसरमा आयोजना हुने कार्यक्रम वहिष्कारको तयारी गरेका छन् ।

राष्ट्रपति कोविन्दले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमलाई शिवसेना र कांग्रेसले वहिष्कारको तयारी गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै दलले भारतीय जनता पार्टीका नेता देवेन्द्र फडणवीस र राष्ट्रवादी कांग्रेसका नेता अजित पवारलाई नाटकीय रुपमा महाराष्ट्रको मुख्यमन्त्री र उपमुख्यमन्त्रीको सपथ दिलाइएको विरोधमा संसद भवन परिसरमा रहेको महात्मा गान्धीको प्रतीमास्थलमा प्रदर्शनको तयारी गरेका छन् ।

महाराष्ट्रमा सरकार गठनको विषयमा राष्ट्रवादी कांग्रेसमा पनि फाटो देखिएको छ । सो दलका नेता अजित पवारले उपमुख्यमन्त्रीको सपथ लिए पनि शरद पवार नेतृत्वमा ठूलो समूहले समर्थन जनाएको छैन । उक्त समूहले भारतीय जनता पार्टीको बहकाउमा लागेर अजित पवारले ठूलो गल्ती गरेको जनाएको छ ।

राष्ट्रवादी कांग्रेसका नेता नबाब मलिकले भारतीय जनता पार्टीका सामु अझै पनि सम्मान जोगाउने मौका रहेको भन्दै गैरराजनीतिक चरित्र प्रदर्शन नगर्न चेतावनी दिएका छन् । उनले अजित पवार अझै पनि राष्ट्रवादी कांग्रेसकै हिस्सा रहेको बताए । ‘उहाँ पवार परिवारकै हिस्सा हुनुहुन्छ, उहाँलाई पार्टीमा फर्काउन हामी प्रयास गरिरहेका छौं,’ उनले भने, ‘आफ्नो गल्ती स्वीकार गरेर उहाँ आउन सक्नुहुन्छ ।’

Loading...