देउवाको अभिव्यक्तिः कांग्रेसलाई संकट, नेकपामा आक्रोश

काठमाडौं, ८ मंसिर । नेपाली नेताहरु राष्ट्रियताजस्तो गम्भीर विषयलाई समेत कहिलेकाँही भाषणको विषय बनाइदिन्छन्, र आलोचनाको पात्र बन्छन् । नेपाली नेताहरु राष्ट्रियताका विषयमा एकजुट नभएकै कारण नेपालको हजारौं हेक्टर जमिन भारतले कब्जा गरेको चर्चा र आक्रोश बेलाबेलामा उठ्ने गरेको छ भने कतिपय अवस्थामा नेताहरुले नै देश बेचेको आरोप समेत लाग्ने गर्छ । तर यस्ता आरोपहरु भने राष्ट्रियता बचाउन भन्दा पनि राजनीतिक दाउपेचमा विपक्षीलाई पछि पार्न लगाइने गरिन्छ ।

भारतीय पक्षले सीमा मिच्दा होस् या भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा छिरेर ज्यादती मच्चाउँदा होस्, नेपाली नेताहरु चुइक्क पनि बोल्दैनन् । त्यसको सट्टामा भातृ संस्थाहरुले आन्दोलन र चर्का नारा लाउछन् र पानी फोका फुटेजस्तै केही दिनमा त्यो आन्दोलन बिना उपलब्धि टुंगिन्छ । कतिपय अवस्थामा त यस्ता विषयमा आन्दोलन किन हुन्छन् र के भएर टुंगिन्छन् भन्ने समेत बुझिदैन । जम्मू काश्मिरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० र ३५ ए खारेजीपछि भारतले गत ३१ अक्टोबरमा आफ्नो नयाँ नक्सा जारी ग¥यो ।

नेपालको सीमा लिम्पियाधुरालाई पहिले देखि नै भारतको कब्जामा छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई समेत भारतीय नक्साभित्रै पारियो । शनिबार पोखरामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको सल्लाहमा नै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिए ।

उनले भनेका थिए, ‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेर नै त्यो नक्सा छापेर निस्केको हो । भारतले त्यसै छापेकै होइन, ओलीसँग सहमति बिना त छाप्नै सक्दैन ।’ उनको यही अभिव्यक्तिले नेपाली नेताहरु राष्ट्रियताको विषयमा आफ्नो स्वार्थअनुसार कसरी प्रस्तुत हुन्छन् भन्ने समेत देखाएको छ । राजनीतिक विश्लेषकहरुले चार पटकसम्म प्रधानमन्त्री भइसकेका देउवाको अभिव्यक्तिलाई ‘असोभनिय’ टिप्पणी भएको बताएका छन् ।

भारतले नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले बोलाएको बैठकमा यस विषयमा एक ढिक्का भएर लड्ने सहमति गरेका देउवाको अभिव्यक्तिले नेपालको कमजोर परराष्ट्र र खासगरी भारतप्रतिको दृष्टिकोण झल्काउँछ । देउवाकै भनाई मान्ने हो भने उनलाई नेपालकै भारतसँग भन्दा बढी नेपालकै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वास नभएको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर देउवाले दिएको अभिव्यक्तिले सामाजिक सञ्जाल समेत तताएको छ । देउवाको अभिव्यक्तिबारे कांग्रेसका नेताहरुले उतिसारो टिप्पणी गरेका छैनन् । सत्तारुढ नेकपाका नेताहरुले भने कडा अभिव्यक्ति दिएका छन् ।

नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओली माथि आरोपित गर्दै पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । तात्कलिक तुच्छ स्वार्थ चुनाव का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ । अझै चेतेनन् ।’

यस्तै नेकपाकै अर्का नेता विष्णु रिजाल लेख्छन्, ‘मुलुकमाथि नाकाबन्दी लाग्दा चुइक्क नबोल्ने शेरबहादुर देउवाले ६ दशक पुरानो कालापानीमा बैतरणी तर्ने हरकत गरेको कति भद्दा देखिएको उनका भनाइ सुन्दा लाग्छ, मानौं यो समस्या नै प्रम ओलीले सिर्जना गरेका हुन कसैले उनलाई सम्झाई देओस् नक्कल गर्न पनि अक्कल चाहिन्छ ।’

देउवाले के भने?
नेपाली कांग्रेसका सभापति देउवाले पोखरामा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भारतले सल्लाह गरेरै नयाँ राजनीतिक नक्सा बाहिर ल्याएको बताए । जुन कुरा नेपालीको अनुमान भन्दा बाहिरको अभिव्यक्ति थियो । कालापानी महाकालीपूर्वको जमिन भएको भन्दै देउवाले ‘कालापानी र लिपुलेक भारतलाई बुझाएर ओलीले राष्ट्रघात गरेको’ आरोप समेत लगाएका छन् । उनको यो अभिव्यक्तिले कांग्रेसलाइ भने संकटमा पारेको छ । शिलापत्र

Loading...