दुर्घटनाले चुँडेको सपनाः सैनिक बन्न हिँडेका विनोद अस्पतालको शैयामा

बुटवल ,४ मंसिर । घरमा चरम गरिबी, श्रीमान्, जीवितै भएर पनि बेसहारा एउटी महिलाको जीवनमा चोटमाथि चोट । भारतमा रहेका श्रीमानले वर्षौंदेखि बेवास्ता गरेपछि तीन सन्तानको पालन पोषणको जिम्मेवारी सम्हाल्दै आएकी उनलाई दैवले पनि न्याय गर्न सकेन ।अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नम्वर ८, पालीगाउँस्थित घर भएकी ४० वर्षीया मेनुका खड्का जीविकोपार्जनको उपाय नभएपछि गुल्मीको चारपाला, भलाचौरस्थित माइतीको सहारामा बसेकी थिइन् ।

श्रीमान मिनबहादुर खड्काले परिवारको हेरविचार गर्न छाडे पनि उनले हरेस नखाई जसोतसो माइती घरमै बसेर निमेक मजदुरी गर्दै दुई छोरा र एक छोरीलाई पढाउँदै आएकी थिइन् । त्यही क्रममा एक दिन एउटा खुशीको खबर लिएर आए उनका १९ वर्षीय छोरा विनोद खड्का ।

विनोद भारतीय सेनाले खोलेको भर्ती केन्द्र, देहरादुनमा आफु छनौट भएको खबर लिएर घर फर्किएका थिए । छोरा भारतीय सेनामा छनौट भएको खबरले आफ्नो जीन्दगीमा दुःखको घडी सकिएको महसुस गर्दै थिइन् मेनुका ।

भर्ना छनौटको सबै मापदण्डमा उत्तीर्ण भएका विनोदलाई अब गृह जिल्ला अर्घाखाँचीबाट प्रहरीको चारीत्रिक प्रमाणपत्रको मात्रै आवश्यकता थियो । त्यही बेला उनका कान्छाबाबु काका ४३ वर्षीय मनोज खड्काले पाली गाउँमा रहेको पुख्र्यौली सम्पत्ति बिक्री गरी नामसारीका लागि सन्धीखर्क आउनुपर्ने भयो ।

त्यसैले विनोद ७२ वर्षीया हजुरआमा गंगादेवी, ४७ वर्षीय माइँला बुवा गंगाबहादुर, ४६ वर्षीय साइँला बुवा तिलक, ४३ वर्षीय कान्छा बुवा मनोजसँगै एकै परिवारका ५ जना बा १६ च ६९१७ नम्वरको कार चढेर रुपन्देही, सैनामैना नगरपालिकाको मुर्गियाबाट कार्तिक २० गते बिहानै सन्धिखर्कतर्फ लागेका थिए । नरपानीबाट ३ सय मिटर अगाडि पुगेपछि एक्कासी कार सडकबाट झण्डै दुई सय मिटर तल खस्यो । यसले विनोदसहित खड्का परिवारको सपना चकानाचुर हुन पुग्यो ।

दुर्घटनामा परि विनोद गम्भीर घाइते भए । गाडी चालक उनका माइँला बुवा गङ्गाबहादुर पनि घाइते भए । तर हजुरआमा गङ्गादेवी, साइँला बुवा तिलकबहादुर र कान्छा बुवा मनोज खड्कासहित एकै परिवारका तीन जनाको घटनास्थलमै ज्यान गयो । मृत्यु भएका एकै परिवारका तीन जनाको लहरै शव राखेर अन्त्येष्टि गरिएको दृष्य दर्दनाक थियो । त्यहाँ कसले कसलाई सम्झाउने मलामी जाने सबैको आँखा रसाएका थिए ।

विनोदको अवस्था चिन्ताजनक भएकाले अर्को पिरालो एकातिर थियो । गंगाबहादुर सामान्य घाइते भएकाले डिस्चार्ज पश्चात आमाको काजकिरिया समेत गर्न सक्ने भए । तर भतिजा विनोदको मेरुदण्ड नै भाँचिएको, टाउको र शरीरका अन्य भागमा समेत गम्भीर चोट लागेकोले अवस्था अहिलेसम्म गम्भीर छ ।

हाल बुटवलको तिलोत्तमा इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका उनको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । छोरा कहिले पूर्ण रुपमा निको होला भन्ने पिरलो एकातिर छँदैछ भने उपचार खर्चमा लागेको यत्रो ऋण कसरी तिर्ने हो र बाँकी खर्च कसरी जुटाउने हो भन्ने चिन्तामा मेनुका खड्का जेलिएकी छन् ।

छोरा अस्पतालमा, बाबु किरियामा

आमा र दुई भाइको दुर्घटनामा मृत्यु भएपछि वर्षौँदेखि भारतमा रहेका मीनबहादुर खड्कालाई घर झिकाइयो । उनी काज किरियामा बसेर उम्किएका छन् । मेनुका भन्छिन्, ‘पति घर आएको यतिका दिनसम्म पनि हाम्रो बोलचाल छैन । म अस्पतालमा छोरा कुरेर बसेकी छु, अहिलेसम्म छोराको अवस्था बुझ्न पनि आउनु भएको छैन ।’

उनका अनुसार मिनबहादुर ७–८ वर्षमा बल्ल घरमा आएका हुन् । उनले घरको हेरबिचार नगरेको पनि सात–आठ बर्ष नै भयो । छोरा विनोद चारपाला हटियाको ईश्वरी माध्यामिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरि भारतीय सेनामा भर्ती हुनका लागि भन्दै तालिम गर्न बुटवलमा बस्दै आएका थिए ।

एउटी छोरीले कक्षा ११ र कान्छो छोरा कक्षा ५ मा पढ्दै गरेको बताइएको छ । ‘एक्लैले दुःख मजदुरी गरेर तीन सन्तानलाई यहाँ सम्म पढाएँ, अब छोरा भर्ती हुने भयो, सुखका दिन आउने भए भन्ने खुशी पलाएको थियो,’ उनले भनिन्, ‘अहिले यस्तो भइदियो । ऋणधन गरेर यतिसम्म खर्च गरेँ, अब मेरो उपाय केहि नभएकोले मेरो छोरालाई बचाइदिन सबैसँग सहयोगको अपिल गर्दछु ।’

Loading...