जनकपुर । दुई नम्बर प्रदेशको राजधानी मिथिला नगरी जनकपुरधाममा आइतबार पूर्वीय दर्शनमाथि गम्भीर छलफल भएको छ । पूर्वीय दर्शनसहित अन्य विभिन्न विषयमा भएको विचार विमर्श नेपाल साहित्य उत्सव अर्न्तगत गंगासागर किनारमा आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन जनकपुर केन्द्रित रहेर पूर्वीय दर्शनमाथि बहस गरिएको हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये चार मिथिलाभूमि जनकपुरमै लेखिएको मानिन्छ ।
महर्षि जैमिनी लिखित ‘पूर्व मीमांसा’, महर्षि बादरायण लिखित ‘उत्तर मीमांसा (वेदान्त)’, महर्षि कपिल लिखित ‘सांख्य’, महर्षि कणाद लिखित ‘वैशेषिक’, महर्षि गौतम लिखित ‘न्याय’ तथा महर्षि पतञ्जली लिखित ‘योग दर्शन’ लाई पूर्वीय दर्शनमा षड्दर्शनका रूपमा उल्लेख गरिएको छ । यसका साथै बौद्ध र जैन दर्शनलाई पनि पूर्वीय दर्शनकै रूपमा मानिएको छ ।
यस विषयमा विजयकुमार सिंह र साहित्यकार रामभरोस कापडि ‘भ्रमर’ सँग प्रा. सुरेन्द्र लाभले छलफल चलाएका थिए । ‘षड्दर्शनमध्ये जैमिनी लिखित पूर्वमीमांसा, कपिल लिखित सांख्य, कणाद लिखित वैशेषिक तथा गौतम लिखित न्याय दर्शन मिथिलाकै भूमिमा लेखिएको हो । यसका अतिरिक्त बौद्ध तथा जैन दर्शनका अनेकौं महिर्षि पनि मिथिला भूमिले सिर्जना गरेको प्रमाण प्राप्त छ,’ रामभरोस कापडिको कथन थियो । कपिलद्वारा प्रतिपादित ‘सांख्य दर्शन’ लाई समस्त भारतीय दर्शनको आधार मानिएको विजयकुमार सिंहले दाबी गरे । यस दर्शनले ईश्वरको अस्तित्वलाई अस्वीकार गर्छ । ‘उनले समस्त तत्त्व (सृष्टि) का स्रष्टा प्रकृतिलाई मानेको छ,’ सिंहले भने ।
आठौं शताब्दीतिरै षड्दर्शनका अतिरिक्त मिथिलाका मण्डन मिश्र, वाचस्पति, उदयनारायण, गंगेश, पक्षधर तथा शंकर मिश्रलगायतले न्याय, कर्मकाण्ड तथा ज्ञानकाण्डलगायत विषयमा गम्भीर विश्लेषण गरेका थिए । सिंहले भने पूर्वीय र पाश्चात्य दर्शनको तुलनात्मक विश्लेषण गर्दै भौतिकवाद, नास्तिकवादजस्ता आधुनिक दर्शनबारे पनि चर्चा गरेका थिए ।
गंगासागर किनारको पानीमा बनाइएको आकर्षक मञ्चमा पूर्वीय दर्शनसँगै ‘पर्ख राक्षस तथा केटा र ह्वेल’ विषयक विमर्शमा लिन्डे फास र मार्क यायेशनसँग राजीवधर जोशीले छलफल चलाए भने दर्शकले औधी मन पराएको ‘साहित्यमा मधेसी पात्र’ शीर्षकको विमर्शमा सीमा आभास र नयनराज पाण्डेसँग चतुर्भुज केवरत र अरुणकुमार राउतले बहस गरेका थिए ।
‘साहित्य सम्झना’ शीर्षकमा गोपाल अश्क, रोशन जनकपुरी र अरुण राउतसँग श्याम शशिले विमर्श गरेका थिए । बुक वर्म फाउन्डेसनले गरेको उत्सवको अन्तिम दिन सन्ध्या बहुभाषिक कवि गोष्ठीले पनि माहोल तताएको थियो ।