होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

काठमाडौँ, २१ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग होटल तथा रेष्टुराँ मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत लगानी वृद्धि भएको छ । विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग छन् ।

ती परियोजनाका लागि रु ११ अर्ब ३६ करोडको प्रतिबद्धता आएको विभागले जनाएको छ । यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ । गत वर्षको सोही अवधिमा रु चार अर्ब ८३ करोड ५२ लाख विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।

विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले चालू आवको पहिलो तीन महिनामा उत्साहवद्र्धकरुपमा विदेशी लगानीको प्रतिबद्धता आएको बताए । तथ्याङ्क केलाउँदा अघिल्लो आवको सोही अवधिको तुलनामा अहिले शतप्रतिशत लगानी बढेको उनले उल्लेख गरे ।

निर्देशक खड्काका अनुसार चालू आवको तीन महिना साउन १ देखि असोज मसान्तसम्म विभागमा मा ८२ उद्योग दर्ता भएकोमा सबैभन्दा बढी ३० वटा पर्यटन उद्योग होटल तथा रेष्टुराँ छन् । उत्पादनतर्फ २०, ऊर्जाका १५, सेवामूलक १२ र कृषि, वन पैदावारमा आधारित जम्मा तीन उद्योग दर्ता भएका छन् ।

यी उद्योगबाट आर्थिक प्रतिबद्धताअनुरुप रु ४८ अर्ब ९१ करोड ३६ लाख लगानी हुन आउँछ । यसबाट पाँच हजार ६१ रोजगारी सिर्जना गर्ने लक्ष्य छ । विभागको आँकडाअनुसार अघिल्लो आव ०७५/७६ मा कूल २३ अर्ब ६९ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

Loading...