वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो

सुर्खेत, २१ कात्तिक । बजारको सौन्दर्य बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपाथमा सञ्चालित पसल हटाएको छ । मङ्गलगढी चोक, बसपार्कलगायतका क्षेत्रमा फुटपाथ व्यवसायीले सडक, चोक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाएको हो । मुख्य चोक, सडक क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्दा प्रदेश राजधानीको सौन्दर्य झन् कुरुप बन्न पुगेको थियो । नगरपालिकाले सोमबारदेखि दुई डोजर प्रयोग गरेर फुटपाथमा बनाइएका व्यावसायिक संरचना हटाउन शुरु गरेको हो ।

विकल्पबिनै आफूहरुले वर्षौंदेखि सञ्चालन गर्दै आएको स्थानमा डोजर चलाएपछि व्यवसायी आक्रोशित बनेका छन् । मङ्गलगढी चोकमा ठेलामा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी पार्वती पौडेलले नगरपालिकाले तत्काल व्यापारिक स्थानको व्यवस्था गर्नुपर्ने बताईन । फुटपाथ व्यवसायीले कर तिर्नुका साथै फोहरमैलाको व्यवस्थापन आफौँले गर्ने गरेको बताएका छन् । व्यवसाय सञ्चालन गरेवापत व्यवसायीले नगरपालिकालाई मासिक रु ३०० र सरसफाइ शुल्क रु १०० तिर्दै आएका थिए ।

नगरपालिका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले फुटपाथ व्यवसायीको माग सम्बोधन गरिने बताए । उनका अनुसार सडकमा व्यवसाय गर्ने ७०० बढी व्यवसायी छन् । तीमध्ये ८८ ले मात्र व्यावसायिक विवरण भरेका छन् । “विवरण पेश गरेका व्यवसायीलाई उपयुक्त ठाउँमा पूर्वाधार निर्माण गरी व्यवसाय सञ्चालनको व्यवस्था गर्छौं”, उनले भने, “फुटपाथका संरचना हटाउन थुपै्रपटक अनुरोध गर्दासमेत अटेर गरेपछि डोजर चलाउन बाध्य भएका हौँ ।”

Loading...