अस्थायी शिक्षकहरुमाथि फेरि दमन, ३० अस्थायी शिक्षकलाई एकैठाउँमा गरियो गिरफ्तार

धनुषा । अस्थायी शिक्षकहरुको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले पुनः हस्तक्षेप गरेको छ । आफ्ना विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनमा दमन गर्नुका साथै ३० जना अस्थायी शिक्षकलाई पक्राउ समेत गरिएको छ ।

अस्थायी शिक्षकहरु आफ्नो आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना अस्थायी शिक्षकहरुले बनाएका थिए ।

सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राखेका छन् । ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहितकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ ।

यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए । त्यसअघि, अस्थायी शिक्षकहरुले असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।

Loading...