विश्व भेगन र नगरपालिकाबीच साझेदारी

गलकोट, १७ कात्तिक । बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याउनका लागि विश्व भेगन अर्गनाइजेसन र बागलुङ नगरपालिकाबीच संस्थागत साझेदारी गरिएको छ । विदेशी पर्यटकको खासै रोजाइमा नपर्ने बागलुङ जिल्लामा नगरपालिकाले विश्व भेगन अर्गनाइजेसनसँग पर्यटक भित्र्याउनका लागि संस्थागत पहल गरेसँगै विदेशी पर्यटक भित्रिन थालेका छन् ।

बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले दुई वर्षपहिला पर्यटन व्यवसायीसँगको संयोजनमा विश्व भेगन अर्गनाइजेसनलाई पर्यटक ल्याउनका लागि प्रस्ताव पेश गरेको थियो । बागलुङ नगरसहित सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धनका लागि भेगनलाई प्रस्ताव गरेको दुई वर्षपछि बागलुङमा विदेशी पर्यटक भित्रिन थालेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका पर्यटकीय स्थल भ्रमणका लागि बुधबार मात्रै २१ जना युरोप तथा अमेरिकाका पर्यटकहरु घुम्न आएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । “हामीले जिल्लामा विदेशी पर्यटक भित्र्याउन दुई वर्षदेखि भेगन अर्गनाइजेसनको सुझावअनुरुप सडक मर्मत, पदमार्ग तथा पर्यटकीय क्षेत्रको विकास ग¥यौँ”, प्रमुख पौडेलले भने, “विश्व भेगनको सल्लाहअनुसार पर्यटक आउने वातावरण सिर्जना गरी विदेशी पर्यटकहरु ल्याउने संस्थागतरूपमा साझेदारी गरेका छौँ ।”

पहिलोपटक बागलुङ भित्रिएका युरोप र अमेरिकाका पर्यटकहरुले गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र बागलुङ कालिका, बागलुङ बजार तथा जिल्लाकै पहिलो घरबाट अतिथि सत्कार घरवास भकुण्डे, मूलावारी दृश्यावलोकन स्तम्भलगायतको अवलोकन गरेका थिए । नगरपालिकाको अनुरोधमा दुई वर्षपहिले नगरपालिकाभित्रको पर्यटकीय सम्भाव्यता अध्ययन गरेर उपयुक्त ठानेपछि पहिलोपटक बागलुङमा पर्यटकहरु ल्याएर आएको विश्व भेगन अर्गनाइजेसन अमेरिकाका अध्यक्ष ज्याकले बताए । ज्याकका अनुसार नगरपालिकासहित सिङ्गो जिल्लाको पर्यटकन प्रवद्र्धनका लागि निरन्तररूपमा पर्यटकहरु भित्र्याइनेछ ।

अन्तर्राष्ट्रियजगत्मा बागलुङलाई चिनाउन अर्गनाइजेसनमा समावेश हुनु पर्यटन व्यवसायीहरुका लागि खुशीको कुरा भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । पशु तथा पशुजन्य उत्पादन सेवन नगर्ने भेगन समूह विशेषगरी धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने गरी नियमितरूपमा बागलुङ आउने पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए। “धौलागिरिका चार जिल्लामध्ये भेगनको रोजाइ बागलुङ भयो”, शर्माले भने, “यहाँका स्थानीय तहले पदमार्ग, सडक सुधार तथा घरवासलाई व्यवस्थित गर्दै लगे बर्सेनि सयौँ विदेशी पर्यटक भेगनले भित्र्याउनेछ ।”

शर्माका अनुसार विश्व भेगनले बागलुङलाई आफ्नो भ्रमण क्षेत्रका रूपमा रेकर्ड राखेर नियमितरूपमा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । बागलुङको पर्यटकीय सम्भाव्यता अध्ययनका लागि दुई वर्षपहिला ज्याक नै बागलुङ आएका थिए। उनले अन्य जिल्लाको तुलनामा बागलुङ भौगोलिक तथा पर्यटकीय हिसाबले भेगनले रुचाउने खालको भएको बताउँदै भेगनमा आबद्ध विदेशी पर्यटकहरु बागलुङ घुम्न पाउँदा खुशी भएको जानकारी दिए ।

Loading...