मानव–वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै

काठमाडौँ, ८ कात्तिक । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चालू आर्थिक वर्षको तीन महीनामा बाघको आक्रमणबाट तीन जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । यसैगरी वन्यजन्तुको आक्रमणबाट सात जना सख्त घाइते, तीन जना सामान्य घाइते र ३३३ पशुधनको क्षति भएको तथ्याङ्क छ ।

वन्यजन्तुको आक्रमण तथा क्षतिका लागि चालू आवमा विभागले हालसम्म जम्मा एक करोड, पाँच लाख ३७ हजार ५३० राहत वितरण गरिसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जङ्गली ब्वाँसो, जङ्गली कुुकुर, भालु, हिउँ चितुवालगायत वन्यजन्तुबाट संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो ।

गत आवमा ३० जनाको मृत्यु

त्यस्तै गत आवमा मुलुकभर वन्यजन्तुको आक्रमणबाट जम्मा ३० जनाको मुत्यु भएको थियो । जसमध्ये हात्तीबाट १५, गैँडाबाट दुई, बाघबाट चार, चितुवाबाट छ, जङ्गली कुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक/एक जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ ।

उक्त अवधिमा वन्यजन्तुबाट ११८ जना सख्त घाइते र १९ जना सामान्य घाइते भएका थिए भने एक हजार ५९३ पशुधनको क्षति भएको थियो । सो अवधिमा विभागले वन्यजन्तुबाट भएको क्षतिमा कूल रु आठ करोड ९० लाख ८४ हजार राहत वितरण गरेको थियो ।

आव २०७३÷७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वका कारण २२ जना मानिसको मृत्यु भएको थियो भने आव २०७४÷७५ मा करीब एक दर्जन व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ । साथै तस्करले वन्यजन्तुको शिकार गरी विदेश लैजानेक्रम पनि रोकिएको छैन । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी तथ्याङ्क हेर्दा काठमाडौँमा मात्रै रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अङ्गको तस्करीको घटना पनि बढ्दो क्रममा छन् ।

वन्यजन्तुको आक्रमणबाट मुत्यु भएका व्यक्तिका परिवारलाई रु १० लाख, सामान्य घाइते भएकालाई बढीमा रु २० हजार र सख्त घाइते भएका व्यक्तिलाई रु दुई लाखसम्म राहत दिनुपर्ने कानूनी प्रावधान छ । सख्त घाइतेको हकमा रु दुई लाखले अपुग भएमा उपचारको सम्पूर्ण खर्च विभागले व्यहोर्ने तर उपचार भने सरकारी अस्पतालमा हुनुपर्ने व्यवस्था छ ।

यसैगरी क्षतिको कृषि बाली क्षतिका सम्बन्धमा बढीमा रु १० हजार एक मौसममा दुई पटकसम्म, पशुधनको क्षतिमा प्रति ठूला जनावर गाई, गोरु, भैँसी को मृत्यु भएमा रु ३० हजार र अन्य साना जनावरको हकमा रु १० राहतस्वरुप दिने गरिएको छ । अन्न भण्डारण क्षति भएमा र घरगोठ क्षति भएमा बढीमा रु १० हजार राहत दिने व्यवस्था रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

रोकथामका लागि विभिन्न कार्यक्रम

वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना’मार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । बढी जोखिम देखिएका क्षेत्रमा जनचेतनामूलक कार्यक्रम नियमितरुपमा गरिरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विभागले संवेदनशील मानव बसोबास क्षेत्रमा भौतिक पर्खाल, तारबार र अवरोध निर्माण गर्ने सोलार र विद्युतीय तार राख्ने, ट्रेन्च खन्ने, टावर र मचान बनाएर सूचना दिनेलगायतका कार्य गर्दै आएको छ । हात्तीबाट बढी प्रभावित चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा टावर बनाएर साइरन राखेको तथा बर्दियामा बस्तीमा हात्ती आएको खबर स्थानीय जनताको मोबाइलमा सन्देश आउने व्यवस्थासमेत परीक्षणका रुपमा शुरु गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै समुदायमा आधारित सचेतना कार्यक्रम निरन्तर गरिएको र स्थानीयसँग वन्यजन्तुका आनीबानीसम्बन्धी अनुभव आदानप्रदानसमेत गर्ने गरिएको छ । यसबाहेक विभागले संरक्षण क्षेत्रमा सवारी साधनबाट वन्यजन्तुमाथि हुने क्षतिको अध्ययन र नियन्त्रणका लागि मुख्य राजमार्गका विभिन्न स्थान सिसीटिभीसमेत राखेर निगरानी बढाएको छ ।