छात्रवासमा आश्रित बालक पढाइसँगै ‘साख‘ सिक्दै

धनगढी,७ कात्तिक । धनगढीको मध्यक्षेत्र हुँदै बग्ने कैलाली खोला छेउमा रहेको भवनको भूइँतलाका कोठामा लस्करै राखिएका पलङ । पलङमा आर्थिक अवस्था कमजोर भएका र अभिभावकबिहीन भएका बालकहरु पढाइमा व्यस्त भएको भेटिन्छन् ।यो भवनमा केही वर्षदेखि आमाको माया छात्रवास सञ्चालनमा छ । छात्रवासमा आश्रित बालक आफ्नो तालिकाअनुसार पढाइ लगायतका कर्ममा नियमित व्यस्त हुने गर्छन् । सानै उमेरमा अभिभावकविहीन भएका कैलाली जिल्लाका किशोर पारस महताको सहारा यतिबेला यही छात्रवास बनेको छ ।

सानो छँदा रोगको कारण आमाबुबाको मृत्युपछि यो छात्रवासको आश्रयमा पुगेका १४ वर्षीय महताले भने, ‘‘विद्यालयमा पढ्न पाइएको छ, पढाइपछि छात्रवासमा शारीरिक अभ्यास, योगाभ्यास, भगवानको भजनकीर्तन पूजा आरती गर्छौ ।” छात्रवास अहिले बुबाआमा मृत्यु भई अभिभावकबिहीन भएका र आर्थिक अवस्था कमजोर भएका महतासहितका ३५ किशोरको सहारा बनेको छ ।

छात्रवासमा आश्रित भएकामध्ये सबै भन्दा सानो उमेरका बालक मुगुका ८ वर्षीय तिलक बानियाँ छन् । बुबाको मृत्युपछि आमासँगै बस्दै आएका बानियाँलाई घरमा आर्थिक अवस्था कमजोर भएका कारण जीविका चलाउन र पढ्ने समस्या आएपछि छात्रवासमा पु¥याइएको हो । हरेक दिन आश्रित बालकलाई पठनपाठनका अलावा ‘साख‘९शारीरिक अभ्यास सिकाउने गरिएको छात्रवासका प्रमुख माधव थापामगरले बताए । उनले भने, ‘‘दैनिक एक घण्टासम्म हुने यो ‘साख ‘बाट आश्रित किशोरहरुको शारीरिक, मानसिक, बौद्धिक क्षमताको विकास गर्नमा योगदान पुगिरहेको छ ।”

‘जाऔं बालौं दिप त्यहाँ, जहाँ अहिले अध्यारो छ । आमाको माया छात्रवासको साइनबोर्डमा लेखिएको प्रस्तुत नाराले जागृत गराएको सेवाको भावनाकै कारण छात्रवास सञ्चालनमा केही सहजता ल्याएको सञ्चालकको भनाइ छ । फलस्वरुप आश्रित बालकहरुको खाना र शिक्षादीक्षाको व्यवस्थाका लागि मुठी दानको सहयोग जुट्ने गरेको छ । ‘घरका गृहीणीहरुले मुठी दानबापत् आफ्नै घरमा चामल, दाल, पिठो जम्मा गरिराख्ने गर्नुहुन्छ, छात्रवासका कर्मचारी प्रवेश चौधरीले भने, “महीनाको पहिलो हप्तामा घर घरमा पुगेर जम्मा गरिएको मुठी दान उठाएर ल्याउछौं ।”

धनगढी क्षेत्रका झण्डै ३०० घरबाट महीनामा मुठी दानबापत् चार÷पाँच क्वीन्टल चामल, पिठो उठ्ने गरेको छ । यसबाहेक मासिक रुपमा नगदको सहयोग गर्नेहरु पनि रहेका छन् । “हरेक दिन कसैले एक माना, कसैले दुई किलोसम्म चामल दान गरिरहेका हुन्छन्”, छात्रवासका संरक्षक योगेन्द्रबहादुर चन्दले भने, “मुठी दान गर्ने काम समाजिक सेवा हो भन्ने भावना जागृत हुँदा छात्रवास सञ्चालनमा केही सहज भएको छ ।”

क्यास्पियन एकेडेमी स्कुल धनगढीका बालबालिकाले हालै छात्रावासमा आश्रित किशोरलाई लक्षित गरी ‘दुई मुठी चामल दान’ भन्ने अभियान चालाएका थिए । गरीब दीन दुःखीलाई शिक्षादीक्षा दिनका लागि मात्र नभइ सनातन धर्म संस्कृतिसम्बन्धी संस्कार सिक्ने र सिकाउनका लागि पनि छात्रवास सञ्चालन गरिएको छात्रावासका संरक्षक चन्दले बताए ।

छात्रावासमा बसेका बालकलाई धनगढीका पञ्चोदय मावि, त्रिनगर मावि, एलजी एकेडेमी, एक्सिस विद्याश्रमलगायतका सरकारी र निजी विद्यालयले निःशुल्क अध्यापन गराउन सहयोग गरेका छन् ।  उक्त छात्रवासले कर्णाली प्रदेश, ५ नं प्रदेश र सुदूरपश्चिम प्रदेशका बालकलाई आश्रय दिई उनीहरुको पालनपोषण र शिक्षादीक्षा प्रदान गरिरहेको छ ।

Loading...