शैक्षिक पूर्वाधार विकासमा अम होंङ गिल फाउण्डेशन क्रियाशील

 काठमाडौँ, ७ कात्तिक । नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको अम होंङ गिल ह्युमन फाउण्डेशनले आफ्नो स्थापनाको एक दशक पार गरेको छ । सो अवधिमा फाउण्डेशनले नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयको जीर्ण संरचनाको पुनःनिर्माण तथा शिक्षाको गुणस्तर अभिवृद्धि र स्वास्थ्य सेवा क्षेत्रमा आफूलाई सक्रिय रुपमा उभ्याउँदै आएको छ ।

फाउण्डेशनले शैक्षिक पूर्वाधार निर्माणका साथै गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थीको व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सफा, सुरक्षित, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न र बालमैत्री विद्यालय भवन निर्माण, आधुनिक पुस्तकालय तथा प्रयोगशाला, खानेपानी तथा आधुनिक शौचालय निर्माणमा नेपाल सरकारसँगको समन्वयमा गतिविधि सञ्चालन गर्दै आएको छ ।

फाउण्डेशनले नेपालका विभिन्न १२ जिल्लाका १५ सामुदायिक विद्यालयको भवन पुनःनिर्माण गरेको छ । एउटा विद्यालयको भवन निर्माणाधीन चरणमा रहेको छ भने अर्को एक निर्माणको तयारीमा छ । विद्यालय पूर्वाधार निर्माणमा मात्र फाउण्डेशनले अरबौँ खर्च गरिसकेको छ । फाउण्डेशनले सोलुखुम्बुको पाङ्बोचे आधारभूत विद्यालय र बुद्ध माध्यमिक विद्यालय, धादिङको बिन्दुकेशर आधारभूत विद्यालय र कल्लेरी माध्यमिक विद्यालय, रुपन्देहीको सिद्धार्थ गौतम बुद्ध आधारभूत विद्यालय र सुन्डी माध्यामिक विद्यालय, कास्कीको बीरेठाँटी माध्यामिक विद्यालय, धनुषाको काली जनज्योति राष्ट्रिय आधारभूत विद्यालय र म्याग्दीको सर्वोदय माध्यामिक विद्यालयलाई बालमैत्री पक्की भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

यसैगरी बर्दियाको मुक्तकमैया आधारमूत विद्यालय, ताप्लेजुङको मायाम माध्यमिक विद्यालय, गोरखाको भगवती आधारभूत विद्यालय, काभ्रेको आजाद माध्यमिक विद्यालय र रोल्पाको जनकल्याण माध्यमिक विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको छ । यसबाट प्रतिवर्ष झण्डै सात हजार विद्यार्थी लाभान्वित हुने बताइएको छ । विद्यालय पूर्वाधारका अलवा फाउण्डेशनले शिक्षक तथा शैक्षिक सामग्रीमा समेत सहयोग पु¥याउँदै आएको छ । फाउण्डेशनले कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्ससँगको सहकार्यमा कास्कीको बिरेठाँटी माध्यामिक विद्यालयमा नेपालको सामुदायिक विद्यालयमध्ये पहिलो ‘स्मार्ट कम्प्युटर’ कक्षा सञ्चालनमा ल्याएको छ ।

शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिरहेका पाँच विद्यालयमा १३ शिक्षकको तलब फाउण्डेशनले उपलब्ध गराउँदै आएको छ । फाउण्डेशनले निर्माण गरेका विद्यालयका विद्यार्थी तथा शिक्षकलाई शैक्षिक अनुभव आदानप्रदानका लागि कोरियामा शैक्षिक अवलोकन भ्रमण पनि गराउँदै आएको छ । हालसम्म विभिन्न विद्यालयका नौ विद्यार्थीले कोरिया भ्रमण गरिसकेका छन् । फाउण्डेशनले ‘हिमालय छात्रवृत्ति’को व्यवस्था गरेर हिमाल आरोहणका क्रममा मृत्यु भएका ओराहीका सन्ततिको उज्जवल शैक्षिक भविष्य निर्माण गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म ३२ बालबालिकाले हिमालय छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।

त्यस्तै हिमाली क्षेत्रका जनताको स्वास्थमा सुधार ल्याउन विभिन्न परियोजना सञ्चालनमा ल्याएको छ । खुम्बु क्षेत्रका जनताको स्वास्थ्य समस्या निवारण गर्न सोलुखुम्बुको नाम्चेमा रहेको ‘द माउन्टेन मेडिकल इन्टिच्युट’को आधुनिक भवन निर्माणका साथै आवश्यक स्वास्थ्य उपकरणसमेत सहयोग गरेको छ । हिमाली क्षेत्रमा रहेको प्राचीन गुम्बाको पुनःनिर्माणमा पनि सहयोग गर्दै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तर मिहेनती अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा तथा भैँसीसमेत वितरण गरेको छ । उक्त कार्यक्रमअन्तर्गत छ विद्यालयका २८९ अभिभावक लाभान्वित भएका छन् । ‘गोरखा भूकम्प’ पछि गोरखा, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रु एक करोड ५३ लाख बराबरको राहत सामग्री वितरण गरेको थियो ।

Loading...