काठमाडौं, १९ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।
आजै दिउसो काठमाडौ जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोही आधारमा प्रहरी अहिलेसम्म उनी बस्दै आएको सरकारी निवास बालुवाटारमा पुगेको थियो ।
महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । पक्राउ परेका महरालाई सिंहदरबार वृत्तमा राखिने भएको छ ।
महरालाई पक्राउ गर्न प्रहरी टोली अपराह्न पौने ५ बजेतिर बा १ झ ७८६२ नम्बरको गाडी लिएर बालुवाटारस्थित सभामुख निवास पुगेको थियो । सुरुमा दुई जना प्रहरी मात्र सभामुख निवासमा पुगेका थिए । उनीहरुले सभामुख निवासको ढोका ढक्ढकाए । बल्ल बल्ल खुलेको गेटबाट भित्र छिरे उनीहरु । उनीहरुले नै त्यहाँ पुगेर आफूहरु महरालाई पक्राउ गर्न आएको जानकारी गराए । उनीहरु एक घन्टा त्यहाँ अलमल गरेपछि प्रहरीको अर्को टोली त्यहाँ पुग्यो ।
महरालाई पक्राउ गर्न प्रहरी बालुवाटारस्थित सभामुख निवास पुग्दा सुरुमा उनका सहयोगीले उनी त्यहाँ नरहेको बताएका थिए । तर, सबै कुरा एकिन गरेर गएको प्रहरीले निवास भित्र छिरेरै छाड्यो । प्रहरी भित्र पस्दा उनी आफ्नै कोठामा मलिन अनुहारमा बसेकाे भेटिएको पक्राउ टोलीमा गएका एक प्रहरीले जानकारी दिए ।
पक्राउ गरेपछि महरालाई प्रहरीले भ्यानमा हालेर लिन खोजेको थियो । तर, महराले भ्यानमा जान मानेनन् । उनले अाफ्नै गाडीमा जान्छु भन्ने आग्रह गरे । भ्यानमा जान नमानेपछि प्रहरीले एउटा अर्को कारको पनि व्यवस्था गरेको थियो । त्यसमा पनि उनी जान नमानेपछि महरालाई उनी आफैले प्रयोग गर्दै आएको बा १८ च ४०० नम्बरको निजी गाडीमा लान प्रहरी सहमत भयाे ।
दिउसो काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न आदेश दिएपछि महरा पक्षधर केही कानुन व्यवसायीले उनलाई संसदले नै उनको संसद पद निलम्बनको प्रक्रिया पूरा गर्नुपर्ने दावी गरेका थिए । संसद पद निलम्बनको प्रक्रिया पूरा नगरी महरालाई पक्राउ गर्न नमिल्ने उनीहरुको दावी थियो । तर, प्रहरीले त्यसलाई पर्खेन ।
गत आइतबार राति महरा पीडित महिला रोशनी शाहीको कोठामा पुगेर बलात्कार प्रयास गरेको आरोप लागेको छ । उक्त आरोप लगाउने रोशनी शाहीले उनी विरुद्ध शुक्रबार किटान जाहेरी दिएकी छन । रोशनी संसद् सचिवालयमै कार्यरत नर्स हुन् । उनले सोमवार महरामाथि आरोप लगाएर मिडियामा बोले पनि त्यसपछि भने त्यसको खण्डन गर्न गरेकी थिइन । केही दिन उनले आफैले बोलेका कुरा खण्डन गर्दै महरा आफ्नो बाबुसमान भएको र उनी आफ्नो कोठामै नआएको बताएकी थिइन । तर, सीसीटीभी फुटेज, मोवाइल ट्रयाकिङ सबै हेर्दा उनी रोशनीको कोठामा पुगेको ठहर भयो । त्यसपछि रोशनीले शुक्रबार एकाएक किटानी जाहेरी दिएकी हुन् ।
महरामाथि प्रश्न उठेपछि उनकाे दल नेकपाले उनलाइ राजिनामा दिन निर्देशन गरेकाे थियाे । त्यसपछि महराले असोज १४ गते मंगलबार नै सभामुख पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजिनामा स्वीकृत भइसकेको छ।
पक्राउ परेसँगै उनको संसद पद पनि स्वत: निलम्वनमा परेको छ। नेपालको इतिहासमा वहालवाला उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणबाट पक्राउ परेको यो पहिलो घटना हो । सरकारी निवासबाटै उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणमा पक्राउ परेको पनि यो पहिलो घटना हो।