भद्रपुर, १३ असोज । घाइते र बिरामी वन्यजन्तुको उपचार र संरक्षण गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनमा प्राणी उद्धार केन्द्र निर्माण कार्य शुरु भएको छ । प्रदेश नं १ मा पहिलोपटक स्थापना हुन लागेको केन्द्रको पूर्वाधार विकासमा प्रदेश सरकारले रु ७५ लाख बजेट दिएको र सामुदायिक वन आफैँले रु २५ लाख लगानी गर्ने वनका अध्यक्ष खेम सिटौलाले जानकारी दिए ।
केन्द्रका लागि सामुदायिक वनको दश बिघा क्षेत्रफलमा तार घेराबारा भइसकेको र बाँकी आवश्यक पूर्वाधार थप्ने काम भइरहेको उनले बताए ।नेपाल सरकारले सात प्रदेशमा प्राणी उद्धार केन्द्र बनाउने नीति ल्याएको छ ।
जामुनबाडी सामुदायिक वन २०६५ सालदेखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ । वनको खुल्ला चिडियाखानामा हाल चित्तल ४०, मृग १०, चितुवा एक, नीलगाई दुई, अजिङ्गर छ, भालु एक, हिमाली गिद्ध तीन, चरिबाघ एक, कछुवा १० लगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको छ ।
प्रदेश नं १ को कुनै पनि स्थानमा घाइते र बिरामी अवस्थामा भेटिएका र सङ्कटमा परेका वन्यजन्तुलाई उद्धार गरेर यहाँ ल्याई उपचारसहित संरक्षणको व्यवस्था उद्धार केन्द्रमा गरिने भएको छ । चिडियाखाना र सिमसार क्षेत्रको घुमघाममा आउने आन्तरिक तथा बाह्य पर्यटकबाट जामुनखाडी सामुदायिक वनले वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी गर्दै आएको अध्यक्ष सिटौलाले बताए । जनावर अवलोकनका लागि आउने पर्यटकले प्रतिव्यक्ति रु ५० छुट्टै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
वर्षौंदेखि वनभोजस्थलका रुपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमुना नामका दुई वटा ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो । यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र र मिनी रेलले पर्यटकलाई आकर्षण गर्दै आएका छन् । वनमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु ५०, नौका विहारको रु ५० र बालबच्चाका लागि निर्माण गरिएको मिनी रेलको रु ५० रकम तिर्ने व्यवस्था गरिएको छ ।
स्थायी र अस्थायी गरी ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको ६३४ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा ६८४ घरधुरी उपभोक्ता छन् । स्थानीय तथा झापाका महिलाले उत्पादन गरेका सामग्रीलाई बिक्री–वितरण गर्नका लागि जामुनखाडीमा कोसेली घर निर्माण शुरु गरिएको वनका अध्यक्ष सिटौलाले बताए ।
उनले वनका उपभोक्ता रहेका महिलालाई विभिन्न समयमा आत्मनिर्भर बन्नका लागि सिकाइएको सीपबाट उत्पादन गरिएका सामग्री कोसेली घरमा राखिदिने बताए । दैनिक सयौँको सङ्ख्यामा आउने बाह्य तथा आन्तरिक पर्यटकले स्थानीय उत्पादन खरीद गरेर लैजाने गरेका छन् । बाँसको परम्परागत एवम् कलात्मक स्वरुपमा कोसेली घर निर्माण गरिन लागेको स्थानीय उपभोक्ता सदस्य सावित्रा दाहाल बताए ।