काठमाडौँ, २८ भदौ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विकासमा लगानी र सहभागिता बढाउन हरेक टोलमा बाल विकास केन्द्र खोलिनु पर्ने बताएकी छन् ।
प्रारम्भिक बालविकासका लागि सांसदहरूको सहकार्य समूह (ककस) र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री कोइरालाले अभिभावक सचेतना र जिम्मेवारी किटान गरी बालविकास केन्द्रको विस्तार गर्नुपर्ने बताएकी छन् ।
हाल सामुदायिकस्तरमा ३० हजार ४४८, निजीस्तरमा पाँच हजार ६४५ गरी ३६ हजार ६४५ बालविकास केन्द्र तथा पूर्व प्राथमिक शिक्षालय छन् ।
इसिडी ककसका सदस्यले संविधानमा बालअधिकारलाई मौलिक हकमा राखिए पनि उनीहरूको शिक्षा, पोषण र स्वास्थ्यका विषयमा कुन निकायको जिम्मेवारी के हो भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएकी थिइन ।
सांसद रुक्मिणी चौधरी, उफीलाल उखेडा, कुन्तीकुमारी शाही, पूर्व सांसद सीता पौडेलललगायतले जग बलियो भए मात्र घर बलियो हुने तथ्यलाई मनन् गरी सरकारले प्रारम्भिक बालविकासमा लगानी बढाउनुपर्ने बताए ।
कार्यक्रममा शिक्षाविद् डा किशोर श्रेष्ठ, शिक्षा विभागका उपनिर्देशक हरि खनाल र अधिवक्ता चन्द्रिका खतिवडाले कार्यपत्र प्रस्तुत गर्दै प्रारम्भिक बालविकासको विभिन्न आयामबारे चर्चा गरेका थिए ।