सबै प्रान्तमा कला क्याम्पस स्थापना हुनुपर्ने

काठमाडौँ, २६ भदौ । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताउनुभएको छ ।

ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा राज्य तथा सरोकारी संस्थाले ध्यान दिनुपर्छ ।”

पार्क ग्यालरीमा डंगोलको एकल कला प्रदर्शनी चलिरहेको छ । सोही प्रदर्शनीको छेको पारेर डंगोलको कला यात्रा, शिक्षा क्षेत्रमा उहाँले गरेका काम र सिर्जनाका विविध आयामका बारेमा बहस गरिएको थियो । नेपाली कलामा योगदान पु¥याउने कलाकारलाई कलाका कुरामार्फत चिनाउनका लागि संवाद कार्यक्रम गरिएको समाजका सचिव मधु शाहीले जानकारी दिनुभयो ।

सरकारी छात्रवृत्ति पाएपछि मुम्बईको जेजे स्कुल अफ आर्टस्बाट कलाको अध्ययन गर्नुभएका डंगोलले ३७ वर्ष ललितकला विषयमा प्राध्यापन गर्नुभयो । दुई पटक ललितकला क्याम्पसको प्रमुख भइसक्नुभएका डंगोलले चित्रका विभिन्न माध्यम र शैलीमा काम गर्नुभएको छ । उहाँले आधुनिक, समसामयिक, परम्परागत तथा वास शैलीमा समेत काम गर्नुभएको छ । नेपाली कलामा पश्चिमी कलाको प्रभाव बढी रहेको बताउँदै उहाँले नेपालको मौलिक कलाको विकासमा शिक्षा तथा अन्य क्षेत्रमा प्रवद्र्धनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले थप्नुभयो, “देशका सबै प्रान्तमा कम्तीमा एउटा कलाको क्याम्पस स्थापना गर्न राज्यले पहल गर्नुपर्छ । कलाको विकासविना हामी कसरी समृद्ध बन्न सक्छौंँ र ?” डंगोलसँग समाजका महासचिव देवेन्द्र थुम्केलीले सहजीकरण गर्नुभएको थियो ।

‘डिभाइन फेरभोर एन्ड हिज अब्स्ट्राक्ट’(दैवी उत्साह र उनको अमूर्तता) शीर्षकमा गरिएको प्रदर्शनीमा डंगोलले विभिन्न भावभंगीमा रहेका गणेशका चित्र राख्नुभएको छ । आफू सानैदेखि गणेशको भक्त रहेकाले गणेशकै चित्र बनाएको डंगोलले बताउनुभयो । मूर्त तथा अमूर्त गणेशमा कलाकारले आफ्नो मौलिक शैलीलाई प्रस्तुत गरेका छन् ।

कलामा समाज, संस्कृति, देश र पर्यावरणको सपाट कोलाज देखाउँदै सिर्जनाको नयाँ चौतारीमा डंगोलले आफूलाई उभ्याउँदै आउनुभएको । उहाँले विशेषगरी गणेश विम्बमा कला रचना गर्दै आउनुभएको छ । उहाँका कलामा रङ विषयको प्रस्तुतिमा निकै कलात्मकता पाइन्छ । रङको जादुमयी प्रस्तुति डंगोलको महत्वपूर्ण विशेषता हो । सांस्कृतिक सहअस्तित्व र आध्यात्मिक भाव उहाँका कलाका मुख्य आधार हुन् । प्रदर्शनी आगामी असोज २९ गतेसम्म रहने बताइएको छ ।

Loading...